Logo

प्रचण्डलाई शेरधन राईको चेतावनी– भुइँको टिप्न खोज्दा गोजीको खस्ने हेक्का रहोस्’ (भिडियोसहित)



काठमाडौं, ११ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले पुष १० गतेको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष १० को सहमतिमा बेइमानी नगर्ने बताएका हुन् । ‘गत पुष १० को सहमति कार्यान्यन हुनुपर्छ भन्ने बटम लाइनमा एमाले छ । प्रधानमन्त्री प्रचण्डले बेइमानी गर्नुहुने छैन । प्रचण्डले धोका दिनुभयो भने के गर्न भन्ने एउटा पाटो छ । त्यसका बारेमा पनि हिसाब–किताब हुन्छ । खेलहरु धेरै भइराखेको छन्, अहिले नै धेरै कुरा भनिहाल्न हतारो हुन्छ । तर, एमालेको विश्वास के छ भन्दा- पुष १० गते जे सहमति भएको छ, त्यो सहमतिबाट नै राष्ट्रपति चयन हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका बारेमा दिएको अभिव्यक्तिको खण्डण गर्दै उनले प्रचण्डलाई ‘भुईको टिप्दा गोजीको खस्नसक्ने कुरा’ हेक्का राख्न आग्रह गरे । एमालेलाई रोडमा पुर्याएर पुरानै गठबन्धन ब्युँताउने सोच प्रचण्डको भएमा त्यो पुरा नहुने उनले बताए । ‘अहिले माओवादी केन्द्रले निर्णय गरेको अवस्था चाहीँ होइन । बाहिर विभिन्न कुराहरु आइराहेका छन् । प्रधानमन्त्री प्रचण्डले भुइँको टिप्न खोज्दा गोजीको खस्ने कुरालाई हेक्का राख्नुपर्यो । अहिले एमालेलाई रोडमा पुर्याउने र पुरानै गठबन्धन ब्युँताउने सोच छ भने रोडमा को पुग्छ थाहा हुँदैन । उहाँ भड्खालोको खोजी गर्दै हिँड्नु भएको छ,’– उनले भने ।

एमालेको चासो, चिन्ता मुलुक र जनतालाई केन्द्रमा राखेर विकास, सुशासन र स्थायित्व भएको उनले बताए । ८९ सिटको नेपाली कांग्रेस ठूलो दल हुँदा पनि ३२ सिट भएको माओवादीलाई एमालेले बोकेको गुण नबिर्सन पनि उनले आग्रह गरे । एमालेले राजनीतिक स्थिरता र स्थायित्वका लागि माओवादीलाई साथमा लिएको उनको दाबी छ । माओवादी र प्रचण्ड सच्चिन आवश्यक रहेको उनले बताए । प्रचण्ड परिस्थितिलाई गिजोल्ने, अस्थिरता कायम राखिरहने मनस्थितिमा रहेको उनले आरोप  छ। राष्ट्रपति निर्वाचनमा सहमति भएको खण्डमा माधव नेपालको नाम स्विकार्न सकिने उनको भनाई छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको नजिकको पात्र माधव नेपाल भएकाले उनीहरुले स्विकारेमा एमालेलाई स्विकार्न कुनै आपत्ति नभएको उनको दाबी छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot