Logo

राष्ट्रपतिमा माओवादीको शर्तैशर्तः प्रचण्डका भाईले खोले पोल (भिडियोसहित)



काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायण दाहालले आफूहरुले कुनै पार्टी विशेषको निर्देशनमा काम गर्ने राष्ट्रपति नचाहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतका राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको र आगामी दिनमा आफूहरुले त्यस प्रकारको विकृतिको अन्त्य चाहेको बताएका हुन् । ‘जो राष्ट्रपति बन्छ, हिजोका दुईवटा राष्ट्रपतिले पार्टीको कार्यकर्ताको रुपमा, कुनै पार्टीको नेताको पछि लागेर जे जस्ता भूमिका खेले ती गतिविधिहरुको अन्त्य हुने खाल्को राष्ट्रपति चाहिएको हो । यो संविधानले निर्दिष्ट गरेको उद्देश्यहरु, लक्ष्य र जनताले संघर्ष गरेर ल्याएको गणतन्त्र, संघीयता लगायतका उपलब्धिहरुको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र शान्ति प्रकृयाका बाँकी कामहरुलाई पूरा गर्ने, नेपालको राष्ट्रियता, मौलिक अधिकारको रक्षा गर्ने मान्छे राष्ट्रपतिको रुपमा चाहिएको हो,’ उनले भने ।

माओवादीले यिनै शर्तहरु राखेर कांग्रेस, एमाले लगायतका दलहरुबीच राष्ट्रिय सहमतिको खोजी गरिरहेको उनको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पुष १० मा राष्ट्रपतिको विषयलाई लिएर कुनै सहमति नभएको उनको दाबी छ । उनले सरकार सञ्चालनको विषयमा ओलोपालो सहमति भएको तर राष्ट्रपतिका विषयमा पुष १० मा कुनै सहमति नभएको उनले बताए ।

‘पुष १० गते बालकोटमा प्रचण्डजी र ओलीजीबीच सम्झौता होइन, एक प्रकारको मौखिक सहमति भएको थियो । त्यो दिनको खास सहमति भनेको साढे दुईवर्ष–साढे दुईवर्ष आलोपालो प्रधानमन्त्री हुने हो । दोस्रो कुरा प्रधानमन्त्री परिवर्तन हुनेवित्तिकै सभामुख पनि परिवर्तन हुने भन्ने सहमति बनेको हो । राष्ट्रपतिमा सहमति हुने गरी छलफल गर्दै जाउँला भन्ने सहमति भएको हो,’– उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot