Logo

संयुक्त राष्ट्रसंग महासचिवद्वारा युक्रेन आक्रमणको निन्दा



काठमाडौं, ११ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् । उनले सामूहिक विवेकको अपमान भएको बताए । रुसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुई दिनअघि एघारौं आपतकालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने– ‘जब तपाईँले युक्रेनमा रुसको आक्रमणबारे कुरा गर्नुहुन्छ भने युक्रेनका जनता र अन्तरराष्ट्रिय समुदायका लागि यो लाजमर्दो विषय हो । यो संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तरराष्ट्रिय कानूनको उल्लङ्घन हो। यसले नाटकीयरूपमा मानवअधिकारको हनन निम्त्याइरहेको छ र यसको प्रभाव युक्रेनभन्दा धेरै परसम्म महसुस भइरहेको छ,’ उनले भने ।

रुस–युक्रेन युद्ध गत फेब्रुअरी २४ मा शुरु भएको थियो र हालसम्म जारी छ । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि महासभाले कीभले समर्थन गरेको प्रस्तावमाथि बहस गर्न थालेको हो । विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघ प्रमुखले पनि भने–‘मैले पहिलो दिनदेखि भनेको कुरा के हो भने यस कदमले विश्च समुदायलाई चुनौती थपेको छ ।’

संयुक्त राष्ट्रसंघका सबै सदस्यहरूले आफ्नो अन्तरराष्ट्रिय सम्बन्धमा कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्ध वा संयुक्त राष्ट्रका उद्देश्यहरूसँग असङ्गत हुने गरी धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने महासचिवको धारणा छ । उनले युक्रेनका चार क्षेत्रलाई गैरकानूनी रूपमा गाभिएकामा पनि आपत्ति जनाएका छन् ।

यसअघि पोल्याण्डमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो युद्धघोष गर्दा ‘ठूलो गल्ती’ गरेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्