Logo

जनयुद्ध माओवादीका लागि महान होला, हाम्रा लागि नरसंहार हो– सूर्य थापा (भिडियोसहित)



काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता एवं संघीय सांसद सूर्य थापाले प्रचण्डले जनयुद्ध दिवसको नाममा जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारलाई ढाँटेको आरोप लगाएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले जनयुद्धको नाममा ठगठाग गरिरहेको आरोप लगाएका हुन् ।

‘जनयुद्ध दिवसको विदा प्रधानमन्त्रीको लेटरहेड प्रयोग गरेर त्यसमा शुभकामना सन्देश प्रवाह गर्ने काम प्रचण्ड कम्रेडले गर्नु भएको हो । उहाँलाई जनयुद्ध दिवस मनाउन २०७५ साल फागुन १ गतेदेखि भूत सवार भएको हो । वर्तमान र भविष्य होइन, भूत सवार भएको हो । जनयुद्ध छोड्ने, जनयुद्ध दिवस मनाउने । यो चाहिँ जनयुद्ध दिवस मनाउने घाइते, अपाङ्ग र सहिद परिवारलाई ठगठाग गर्ने काम हो । दिवस मनाइदिएका छौं भनेर आँखामा फुलो पार्ने काम हो,’– उनले भने ।

जनयुद्ध दिवसको विदा मन्त्रिपरिषद्मा छलफल भएर निर्णय नभएको उनले खुलासा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा रहेको बेला ‘आफ्नो हात जगन्नाथ’ गरेको उनको आरोप छ । जनयुद्ध माओवादी र प्रचण्डको लागि महान भएपनि एमालेको नजरमा हिंसा भएको उनले बताए । ‘जनयुद्ध प्रचण्ड कम्रेडका लागि महान होला, हाम्रा लागि होइन । हिंसा, मारकाट, हत्या, नरसंहार सबै हो । कुनै सुनामको काम होइन,’– उनले भने ।

एमाले हिंसाको पक्षधर नभएको उनको दाबी छ । प्रचण्ड ०५२ सालदेखि ०६२ सालसम्म हिंसाको पक्षपाती भएको उनको आरोप छ । जनयुद्ध लडेकाहरुले जनयुद्ध मनाउनु, गौरव महशुस गर्नु कुनै आपत्ति नभएको तर त्यो राष्ट्रिय दिवस हुन नसक्ने उनले बताए ।

साथै, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो गल्ती महशुस गर्ने बेला आएको उनको दाबी छ । अध्यक्ष नेपालको बल एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटमा रहेको उनले टिप्पणी गरेका छन् । ‘माधवकुमार नेपालले आफ्नो जीवनको एउटा कालखण्डमा गरेको भयानक गल्ती सच्याउन उहाँले अहिले सक्नुहुन्छ । दुनियाले बुझेका छन्, पार्टी फुटाएको सजाय उहाँले पाइसक्नु भएको छ । अब उहाँले आफूलाई सच्याउने, आफ्नो गल्तीप्रति प्रायश्चित गर्ने हो । शब्दमा परेन, वक्तव्य बाजी परेन, उहाँको व्यवहारले माधव कुमार नेपालको बल चाहिँ उहाँ (केपी ओली) को कोटमा छ,’– उनले भने ।

नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनुमा अध्यक्ष नेपालको हात रहेको उनको आरोप छ । अध्यक्ष नेपाललाई त्यो काशी जाने बाटो होइन भन्ने अनुभव भइसकेको उनको दाबी छ । ‘नेपाली कांग्रेसलाई प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने ठाउँमा पुर्याउने काम माधव कम्रेडले गर्नु भएको हो । माधव नेपाल अब यो काशी जाने बाटो होइन रहेछ भनेर फर्किनुहुन्छ भने ठीक छ । उहाँ फर्किए सुध्रिनु हुन्छ । सुध्रिए राम्रो नसुध्रिए झनै राम्रो,’– उनले भने ।

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको आवश्यकता नरहेको उनको दाबी छ । माधव नेपालले रियालाइजेशन गरेको खण्डमा माधव नेपाललाई एमालेले समर्थन गर्ने उनले बताए । माधव नेपालले पार्टी फुटाएको प्रतिमात्रै एमालेको आक्रोश भएको र उनको योगदानप्रति एमालेले गर्व गरेको उनले बताए । माधव नेपाललाई कांग्रेस, माओवादी कसैले पनि राष्ट्रपति नबनाउने उनको दाबी छ । आत्मसमीक्षा गरेर एमालेसँग सहयोगको लागि तयार भएमा उनलाई सहयोगका लागि एमाले तयार रहेको उनको भनाई छ ।

 

 



प्रतिक्रिया दिनुहोस्