Logo

आर्थिक संकट मोचनका लागि ठूला–ठूला भ्रष्टाचारको छानबिन गरौं– धनराज गुरुङ



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले देश आर्थिक संकटमा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद् गुरुङले आर्थिक सुशासन कायम गरी संकट मोचनका लागि हालसम्म भएको ठूला–ठूला भ्रष्टाचार छानविन गर्नुपर्ने बताएका हुन् ।

‘एकातिर मुलुक चरम आर्थिक संकटमा गुज्रिरहेको छ भने अर्कोतर्फ मुलुक आर्थिक बेथितिबाट आक्रान्त छ । आर्थिक संकट मोचन गर्नका लागि आर्थिक सुशासन कायम गर्नुपर्दछ । आर्थिक सुशासनका लागि भ्रष्टाचारीको कुनै जात,धर्म वर्ण, लिङ्ग, क्षेत्र, राजनीति वा राष्ट्रियता हुँदैन भन्ने मान्यताका साथ ठूला–ठूला भ्रष्टाचारको छानबिन गर्नु पर्दछ । जुनसुकै पार्टीको जतिसुकै ठूलो नेता भ्रष्टाचारमा मुछिएमा त्यसलाई कानुनको कठघरामा उभ्याउनै पर्दछ । तबमात्रै आर्थिक सुशासन कायम गर्न सकिन्छ । अनिमात्रै आर्थिक संकट मोचन गर्न सकिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्