Logo

राष्ट्रिय सहमति हुने विश्वासका साथ उम्मेदवारी दिएको हुँ– सुवास नेम्वाङ



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) बाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङले आफू संविधानको परिपालना र रक्षामा लागिपर्ने बताएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासको साथ उम्मेदवार बनेको बताए । ‘सबै हिसाबले म संविधानको परिपालना गर्न लाग्नेछु । मेरो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ उठेको हुँ,’ उनले भने ।

उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् । यसैगरी उनको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।

इलाम नगरपालिका९७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०२८ बाट राजनीतिमा निरन्तर क्रियाशील नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै हाल उपाध्यक्ष छन् ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य बन्नुभएका उनी त्यसलगत्तै पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०५६ मा इलाम–२ बाट निर्वाचित उहाँ संविधानसभा निर्वाचन २०६४ र २०७० मा इलाम–२ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा इलाम–२ बाट लगातार निर्वाचित भएका नेम्वाङ एमाले संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए ।

उनी विसं २०६३ मा पुनःस्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्षरसभामुख र २०७२ सालमा रुपान्तरित व्यवस्थापिकाको सभामुख भएका थिए। विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए ।

राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसाय ९वरिष्ठ अधिवक्ता० रहेका उनले पञ्चायती निरङ्कुशताविरुद्धको राजनीतिक आन्दोलनका क्रममा पटकपटक सार्वजनिक सुरक्षाअन्तर्गत नजरबन्द परेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्