Logo

राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने एमाले नेता तामाङको दाबी, यस्ता छन् आधार (भिडियोसहित)



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको जित सुनिश्चित रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष १० गतेको सहमति कायमै भएकाले एमालेको उम्मेदवार विजयी हुनेमा कुनै शंका नरहेको बताएका हुन् । ‘हामी जित्छौं । पुष १० गतेको सहमति अहिले पनि कायमै छ । त्यही सहमति अनुसार हामी अगाडि बढ्छौं,’– उनले भने ।

पुष १० गतेको सहमति डेढ घण्टाभित्रै भएको भन्दै उनले राष्ट्रपति निर्वाचनको दिन पुरानै समीकरणका उम्मेदवार विजयी हुने दाबी गरे । ‘पुष १० गते कति घण्टाभित्र समीकरण बनेको थियो ? थाहा छ ? डेढ घण्टाभित्र बनेको थियो । २५ गते आउन त धेरै समय बाँकी छ । त्यसभएकाले अहिले नै केही भइहाल्छ नठान्नुस्,’– उनले भने । अहिलेको परिप्रेक्ष्यमा एक दलले अर्को दललाई आरोप प्रत्यारोप लगाउनुको कुनै औचित्य नभएको उनको दाबी छ । एमालेले देशमा कुनै अस्थिरता ननिम्त्याएको उनले बताए ।

अहिले एमालेले प्रचण्ड नेतृत्वको गठबन्धन टुटेको घोषणा नगरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई निर्णय गर्नका लागि एमालेले केही हस्तक्षेप नगरेको उनको दाबी छ । परराष्ट्रमन्त्री बिमाला राई पौडेललाई जेनेभाको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले रोकेको प्रसंग जोड्दै उनले भने,– ‘कार्यकारी प्रधानमन्त्री ज्यूले कहिलेकाँही भन्नुहुन्छ– केपी ओलीले अड्कायो । केपी ओलीले यसो गर्यो । काम गर्दा त हुँदो रहेछ नि त । मन्त्रीलाई रोक्न सक्नुहुँदो रहेछ । अर्को कुनै घोषणा गर्न सक्नुहुन्छ । उहाँलाई कार्यकारी निर्णयका लागि रोकिएको छैन । आरोप लगाउनका लागि मात्रै आरोप हो । उहाँलाई सफल बनाउने कुरामा हामी अहिले पनि कायम छौं । अहिले पनि हामी पुष १० गतेको सहमतिमा कायम छौं । त्यो सहमति अनुसार अगाडि बढ्छौं । २५ गतेसम्म, मतदान हुनेबेलासम्म मुलुकको राजनीति कोल्टे फेर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot