Logo

इतिहासको सम्मानका लागि पनि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुपर्छ– माओवादी नेता दाहाल



काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले नेपाली कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अहिले मुलुकको संकट टार्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको र त्यसका लागि कांग्रेसलाई बाहिर राख्न नसकिने बताएका हुन् । ‘अहिले आठ दलहरुकाबीच सहमतिबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ । मुलुकलाई राष्ट्रिय सहमति चाहिएको छ । राष्ट्रिय सहमति नेपाली कांग्रेसभन्दा बाहिए गएर हुन सक्दैन । अहिले देखिएको आर्थिक संकट, राजनीतिक ढङगले देखेका समस्याहरु, शान्ति प्रकृया र संविधानको सफल कार्यान्वयन गर्न, संविधानको रक्षा गर्ने यी विषयवस्तुसँग केन्द्रीत हुन नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक छ,’– उनले भने ।

माओवादीसँग प्रधानमन्त्री, एमालेसँग सभामुख र राष्ट्रपति कांग्रेससँग हुँदा सरकार सञ्चालन र शन्तिप्रकृयका बाँकी कामलाई निष्कर्षमा पुर्याउन सजिलो हुने उनको भनाई छ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल इतिहासले सम्मान गर्न लायक पात्र रहेको उनको दाबी छ । ‘राष्ट्रपतिमा रामचन्द्र पौडेल इतिहासले नै सम्मान गर्नुपर्ने पात्रमा पर्नुहुन्छ । यो मुलुकलाई यहाँसम्म ल्याउने प्रकृयामा उहाँको मेहनत र प्रयत्न छ । त्यसकारणले पनि मुलुकले सम्मान गनुपर्ने पात्र हो उहाँ । इतिहासको सम्मान गर्नको निम्तिपनि यो पटक राष्ट्रपतिमा हामीले रामचन्द्र पौडेलजीलाई विजय बनाउनु पर्छ,’– उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को रोष्टममै आएर प्रतिनिधिसभा विघटन ठीक थियो भनेर बोलेपछि प्रधानमन्त्री प्रचण्ड थप सजग बनेको उनको दाबी छ । आवश्यक परे प्रधानमन्त्रीले फेरि संसद् विघटन गर्नसक्छन् भनेर ओलीले अवैधानिक ढंगले बोलेको उनको आरोप छ । ‘सहमतिको विपरीत कमरेड केपीजीले रोष्टममै आएर संसद् विघटन ठीक थियो । आवश्यक परे प्रधानमन्त्रीले फेरि विघटन गर्न सक्छन् भनेर असंवैधानिक ढङगले बोलेको दिनदेखि नै उहाँले सहमति उल्लङ्घन गर्न सुरु गर्नुभयो,’– उनले भने । मुलुकलाई अगाडि बढाउन स्थिर, बलियो, जनउत्तरदायी, जवाफदेही सरकारको अपेक्षा भएपनि एमाले अध्यक्ष ओलीबाट त्यो सम्भव नभएको उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot