काठमाडौं, १५ फागुन । नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको हो ।
एमालेको आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान प्रधानमन्त्री प्रचण्डले रोक लगाएपछि आफ्नो अपमान भएको महशुस गर्दै एमाले सरकारबाट बाहिरिएको छ ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा संसद्मा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।