काठमाडौं, १८ फागुन । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक भेटवार्ता तीब्र बनाएको छ । एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले आज नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेम्वाङसहित निर्वातमान अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान परराष्ट्रमन्त्री विमला पौडेल, पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव रघुवीर महासेठ एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई जिताउनका लागि आग्रह गरेका हुन् ।
एमाले नेताहरुले आजै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताइएको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर मत माग्ने तयारी रहेको बताइएको छ ।
राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको उम्मेदवारमा एमालेले नेम्वाङलाई अगाडि सारेको छ भने कांग्रेससहितको आठ दलीय गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अगाडि सारेको छ । पहिचानका पक्षधरहरुले राष्ट्रपतिमा नेम्वाङलाई मतदान गर्ने एमाले नेताहरुको दाबी छ । पहिचानको हिसाबले मधेशबाट रामवरण यादव र महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले अब जनजातिबाट नेम्वाङ राष्ट्रपति बन्ने एमाले नेताहरुको दाबी छ ।