काठमाडौं, १८ फागुन । राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङलाई जिताउन आग्रह गर्दै नेकपा (एमाले) का नेताहरुले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
आज (बिहिबार) नेकपा (एस) को पार्टी कार्यालय आलोकनगर पुगेर एमालेका नेताहरुले अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, निवर्तमान परराष्ट्रमन्त्री विमला राई पौडेल, पार्टी सचिव रघुवीर महासेठ, पृथ्वीसुब्बा गुरुङ अध्यक्ष नेपाललाई भेट्न पुगेका थिए । भेटमा उनीहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङको पक्षमा मतदान गर्न अनुरोध गरेका थिए ।
एमाले नेताको अनुरोधलाई अध्यक्ष नेपालले अस्विकार गरेका छन् । आफूहरुले राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने वचन दिइसकेकाले नेम्वाङको पक्षमा मतदान गर्न नसकिने नेपालले बताए ।