Logo

किन गर्दैछन् गगनले प्रचण्ड र माधवको प्रसंशा ?



काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गरेका छन् । आज आठ दलीय गठबन्धनका बागमती प्रदेश सभा सदस्यहरुका लागि राखिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र अध्यक्ष नेपालको कारण अहिलेको गठबन्धन ब्युँतिएको भन्दै प्रशंसा गरेका हुन् ।

एमालले राष्ट्रपति बाहिर जाँदैछ भन्ने थाहा पाएपछि पाँचै वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार भएको उनको दाबी छ । तर, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एस) का अध्यक्ष नेपाल इमानदार बनेकाले अहिलेको अवस्थामा आइपुगिएको उनले बताए ।
गत पुष १० मा नेपाली कांग्रेसको तर्फबाट गल्ति भएको उनले स्विाकार गरे ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री हुने कुरानै महत्वको कुरा थियो र त्यो कुरानै प्रधान कुरा थियो भने यो गठबन्धनमा आइबस्नै पर्दैन थियो । यो गठबन्धन बनाउने पर्दैनथ्यो । माओवादी केन्द्रले उपराष्ट्रपति पनि पाउँथ्यो । नेकपा (एमाले) को समर्थनमा त्यस्तै परेको खण्डमा पाँचै वर्ष प्रधानमन्त्री पनि पाउँथ्यो । ल्याप्चे, तमसुक, कालो दलेर जे–जे गर्दिनुपर्ने हो, उठेर, बसेर (एमालेले) सबै गर्दिन्थ्यो । प्रधानमन्त्री हुने कुरा तलमाथि भएहोस् तर जुन उद्देश्यका साथ गठबन्धन बनाइयो त्यो गठबन्धन फेरि ब्युँतिन्छ र फर्कन्छ भने म जोखिम उठाउन तयार छु भन्ने कुरा प्रचण्डले नमानेको भए यो बाटो अगाडि बढ्ने अवस्था हुँदैन थियो,’– उनले भने ।

राष्ट्रपतिका लागि माधव नेपालले मलाई एमालेको अध्यक्ष बनाउन पर्छ भनेको भएपनि एमाले त्यसलाई समेत स्विकार्न तयार भएर बसेको गगनको दाबी छ । माधव नेपालले राष्ट्रपति लगायत अन्य सबै पद त्याग्न तयार भएर पुरानो गठबन्धन ब्युँत्याउन तयार भएको उनको दाबी छ । आठ दलीय गठबन्धनको नेतृत्वमा रहेको सरकार पाँचै वर्ष टिक्ने उनको दाबी छ । समझदारी भन्दा बाहिर नेपाली कांग्रेस नजाने उनले बताए । साथै नेपाली कांग्रेससँग कोही चकचक गर्न नआउन पनि उनले एमालेसँग आग्रह गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्