Logo

माओवादी सचिव आचार्य भन्छन्– एमाले आफैंले प्रचण्डसँगको सहमति तोड्यो (भिडियोसहित)



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष १० मा भएको सहमति तोडेको आरोप लगाएका छन् । ‘सहमति गर्न हामी जाँदै थियौं । त्यो बेलामा हाम्रो एउटा अर्को सहमति पनि भएको थियो । त्यो के भने सदन गठन र पुनर्गठनका बारेमा हाम्रा बेग्लाबेग्लै स्टन्ट छन् । तपाईँले हिजो सदन विघटन गर्नुभयो । तपाईँलाई ठीक गरे भन्ने छ । हामीले त्यसका विरुद्ध आन्दोलन गरेका छौं । प्रतिगमन भनेका छौं । हाम्रो छुट्टै स्टन्ट छ । कतैबाट पनि यो कुरा बाहिर आयो भने हामी फेरि आ–आफ्नो स्टन्टमा उभिन बाध्य हुन्छौं । यसको बारेमा गम्भीर छलफल शान्तिपूर्ण वातावरण भएको बेलामा हाम्रो बीचमा आवश्यक छ । यो कुरा अहिले नउठाउने भन्ने सहमति भएको थियो । तर, ओलीले सदनमा व्याङ्ग्यात्मक रुपमा प्रस्तुत हुनुभयो । राजनीतिक रुपले यो गठबन्धनमा खलल पुग्ने काम त्यहाँबाट सुरु भयो,’– माओवादी सचिव आचार्यले प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग भने ।

आफूहरु ओलीसँगको सहकार्य नटुटाई कांग्रेससहितको राष्ट्रिय सहमति खोज्ने पक्षमा उभिए पनि त्यो एमालेको कारण असम्भव भएको उनको भनाई छ । गठबन्धन तोडिनुमा एमाले नै दोषी रहेको उनको दाबी छ । ‘घटना हाम्रो अगाडि छ । हामीले ओलीलाई अनुरोध गरेको के हो भने, प्रचण्डको विश्वासको मतमा देशै एक ठाउँमा आईपुग्यो भनेदेखिन् त्यसलाई हाम्रो महत्वकांक्षा वा जेसुकै भन्नुस् तर हामी चाहन्थ्यौं ओलीसँगको सहकार्य पनि नटुटोस् । कांग्रेसले पनि विश्वास गर्ने वा कांग्रेसकै मान्छे राष्ट्रपति बनाएर राष्ट्रिय सहमति कायम गर्ने । हामी आपसमा खुट्टा तानातान गरिरहेका छौं । यसलाई स्थगित गरौं र देशका मुद्दामा केन्द्रीत हौं भन्ने कु्रा थियो,’– उनले भने ।

साथै, राष्ट्रपतिको उम्मेदवार चयनको बेलामा प्रचण्ड–ओलीबीच भएको अन्तिम छलफलको खुलासा गर्दै उनले भने–‘ प्रचण्डले मैलेमात्रै भन्दा राम्रो हु्ँदैन । एकपक्षीय हुन्छ । तपाईँ र म गएर शेरबहादु्रलाई राष्ट्रपति तपाईँ लिनुस् । राष्ट्रिय सहमति गरेर जाउँ । मतभेदका मुद्दा पनि बोल्दै जाउँ । तर काममा एकजुट हौं, भनिसकेपछि ओली कम्रेड त्यहाँबाट रिसाएर उठेर हिड्नुभएको हो ।’

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्थिर नभई परिस्थितिलाई बु्झ्न सक्ने नेताका रुपमा उनले चित्रण गरे । राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय सहमतिको लोभ गर्दा एमालेसँगको गठबन्धन टुटेको उनको दाबी छ । जनयुद्धलाई अपराधीकरण गर्ने काम भएकाले र शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन पनि अहिले राष्ट्रिय सहमतिको सरकार आवस्यक रहेको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot