काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरुलाई हत्यारा र अपराधी भनेको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धलाई अपराधीकरण गर्न खोजेमा इतिहास दोहोर्याउने उनले चेतावनी दिएका हुन् ।
‘आज माओवादीलाई भाषणमा अपराधीहरु, लुटेराहरु भनिन्छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने, माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउँने हामीसँग तागत छ । हामी ठेगान लगाइदिन्छौं ,’– उनले भने ।
नेपाली जनतालाई अढाई सय वर्ष दमन र अन्यायमा राख्ने सामन्तहरु यो देशको आपराधी भएको उनको दाबी छ । आफ्नो हक अधिकारका लागि विद्रोह गर्नेलाई अपराधीकरण गर्ने छुट कसैलाई नभएको उनले बताए । ‘को हो हत्यारा नेपालमा ? दुई सय वर्षसम्म, अढाई सय वर्षसम्म नेपाललाई टाउकादेखि खु्ट्टा सम्म चुसेर, लुटेर अर्वौ रुपैयाँ थुपार्ने नेपालका सामन्तहरु अपराधी हुन की आफ्नो अधिकारका लागि मर्न तयार भएर विद्रोह गर्नेहरु अपराधी हुन ?’– उनले भने ।
लोकतन्त्रमा माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने छु्ट कसैलाई पनि नभएको उनको दाबी छ । ‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । यो लोकतन्त्रमा बनाउन खोजिँदै छ नि, माओवादीलाई अपराधी बनाउन खोजियो भने इतिहास दोहोरिन्छ । इतिहास दोहार्याउन सकिन्छ । यो कुरा सबैले हेक्का राख्नुपर्छ,’– उनले भने ।
यो देशमा ६० सालको माओवादी फेरि फर्कन सम्भव रहेको उनले बताए । अबको यात्रा समाजवादतर्फ हुनुपर्ने उनले बताए । समाजवादका लागि लडेका सहिदहरुको सपना समाजवाद आएपछि मात्रै पुरा हुने उनले बताए ।