Logo

प्रचण्डविरुद्ध मुद्दा दर्ता हुन शान्ति सम्झौता गलत थियो भन्न सक्नुपर्छ– बार अध्यक्ष घिमिरे



काठमाडौं, २३ फागुन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले शान्ति सम्झौताबाट टुंगिएको विषयमा राजनीतिक भाषणको आधारमा मुद्धा दर्ता हुन नहुने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डविरुद्ध मुद्धा दर्ता हुन शान्ति सम्झौता गलत थियो भन्न सक्नुपर्ने बताएका हुन् ।

बारले यसबारेमा आफ्नो धारणा बनाइनसकेकाले यस विषयमा छिट्टै विज्ञप्ति सार्वजनिक गर्ने उनको भनाई छ ।  ‘कि सबै कुरा गलत भयो भन्नुपर्यो । नत्र शान्ति सम्झौताबाट टुंगिएको विषय एउटा राजनीतिक भाषणलाई आधार बनाएर मुद्दा चल्ने भन्ने कुरा हुनसक्दैन । यो मेरो व्यक्तिगत विचार हो । बार कसरी जाने भन्ने कुरा हामी चाँडै निर्णयमा पुग्छौं । एउटा राजनीतिक भाषण, जुन हिजोको द्वन्द्वसँग सम्बन्धित थियो । अब द्वन्द्वसँग सम्बन्धित भाषणलाई लिएर त्यही आधारमा क्रिमिनल कोर्टमा मुद्धा चल्ने भन्ने कुरा सम्भव जस्तो लाग्दैन । म फौजदारी कानुनको विद्यार्थीकै नाताले भनिराखेको छु– त्यो त एउटा भाषण न थियो प्रचण्डको’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले तीन वर्षअघि माघीको अवसरमा टुँडिखेलमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी, जितेन्द्र मोक्तान लगायतका अधिवक्ताहरुले सर्वोच्चमा रिट लगेका छन् ।



प्रतिक्रिया दिनुहोस्