Logo

प्रचण्ड त्यहीबेला सकिनु भयो जुनबेला जनयुद्ध सकियो भन्नुभयो- पूर्वमाओवादी नेता भण्डारी (भिडियोसहित)



काठमाडौं, २४ फागुन । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने कार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत तत्कालीन सात दल जिम्मेवार रहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल लगायत सबै जिम्मेवार हुनुपर्ने बताएका हुन् । ‘प्रचण्डसहित सात दल जिम्मेवार हुन् । त्यसमा प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल सबै जिम्मेवार मान्छे हो । सबैले गर्न सक्नुपथ्र्यो,’– उनले भने ।

अहिले ठूला भनिएका राजनीतिक दलका नेताहरुको ध्यान सरकार बनाउने र गिराउनेमा मात्रै भएकाले शान्ति प्रकृया निष्कर्षमा नपुगेको उनको ठहर छ । प्रचण्ड विरुद्ध ज्ञानेन्द्र आरनले हालेको रिट ठूलो कुरा नभएको उनको तर्क छ । अदालतमा जो कोहीलाई सरोकार भएको विषयमा मुद्दा लिएर जाने हक रहेको उनले बताए । ‘ज्ञानेन्द्र आरनजीले मुद्दा हाल्नुभयो । यो ठूलो कुरा हो जस्तो लाग्दैन मलाई । अदालतमा जोकोहीले मुद्दा हाल्न पाउँछ । यसलाई रोकेर साध्य छैन । संविधानको एउटा प्रक्रिया छ । मौलिक हकको कुरा छ । यो स्वभाविक छ । तर, एमालेले जनयुद्ध दिवसलाई हत्या दिवस भनेको कारण पीडामा रहेका नागरिकलाई असर परेको उनले बताए । ‘प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नुभयो । त्यो निर्णय त सबै पार्टीका मान्छेले गरे । एमालेको मुख्य नेता जो त्यो दिनसम्म सत्ताको साझेदार हुनुहुन्थ्यो । उहाँले यो हत्या दिवस हो भनेर भन्नुभयो । त्यसले युद्धको क्रममा पीडा भोग्न बाध्य भएका उनीहरुको मन छोयो । मन यस अर्थमा छोयो कि साच्चै हाम्रा मान्छे आतंककारी भएकै कारण मारिएका हुन् त ? हत्या हिंसाकै घटना हो त ? राजनीतिक घटना होइन ? जनयुद्धको जगमा बसेर गणतन्त्र स्थापना भएको होइन ? त्यो केही पनि छैन ? खाली हत्या दिवस हो ? यो कुरा नेतृत्व तहबाट आयो,’– उनले भने ।

शान्ति सम्झौता पछि पहिलो कामनै युद्धकालीन मुद्धा र शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पर्नेमा उल्टो काम भएको उनको दाबी छ । शान्ति प्रकृया, सेना समायोजन र संविधान निर्माणजस्ता मुख्य विषयमा प्रचण्डसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन सात दल चुकेको उनको आरोप छ । ‘शान्ति सम्झौता भएको १६ वर्ष भयो । १६ वर्षसम्म शान्ति प्रकृयालाई टुंगो लगाउन पर्छ भन्ने राजनीतिक दलले उल्टोबाट काम सुरु गरे । सबैभन्दा पहिला यही विषयलाई हल गरेर मात्रै संविधान निर्माणमा जान सक्नुपथ्र्यो । सेना समायोजनमा जान सक्नुपथ्र्यो । किनभने शान्ति पक्रियाका तीन वटा महत्वपूर्ण विषय छन् । पहिलो विषय संविधान निर्माण । त्यो विवादास्पद छ । विवादास्पद ढंगले त्यो घोषणा भएको थियो अहिले पनि छ । दोस्रो विषय सेना समायोजन । यो पनि सही ढंगले हुन सकेको छैन । बहिरगमित भनिएका सेनाको अझै कुरा उठिराख्या छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण विषय युद्धमा भएको ज्यादतिहरु, मानव अधिकार उल्लङ्घनका विषयहरुलाई सही ढंगले सत्य तथ्य पत्ता लगाएर कुन– कुन विषय प्रक्रियागत ढंगले जाने र कुन विषयमा मेलमिलाप गरेर समाजमा मेलमिलापको वातावरण बनाउने हो । त्यो कुरा सबैभन्दा पहिला नै हात हाल्नु पथ्र्यो । जुनबेला शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता सात दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट प्रचण्ड,’– उनले भने ।

प्रचण्डले जनयुद्ध सकिएको घोषणा गरेसँगै उनी पनि सकिएर केवल पुष्पकमल दाहाल मात्रै बाँकी रहेको उनको टिप्पणी छ । ‘प्रचण्ड त्यहीबेला सकिनु भयो जुनबेला जनयुद्ध सकियो भन्नुभयो । जनयुद्ध भनेको प्रचण्ड, प्रचण्ड भनेको जनयुद्ध थियो । अहिले त पुष्पकमल दाहाल हुनुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot