काठमाडौं, २४ फागुन । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसमा दिएको अभिव्यक्तिले नराम्रो असर गरेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीले जनयुद्ध दिवसलाई हत्या दिवस भनिदिँदा युद्धका कारण पीडामा रहेका नागरिकहरुमा नराम्रो असर परेको बताएका हुन् ।
‘प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नुभयो । त्यो निर्णय त सबै पार्टीका मान्छेले गरे । एमालेको मुख्य नेता जो त्यो दिनसम्म सत्ताको साझेदार हुनुहुन्थ्यो । उहाँले यो हत्या दिवस हो भनेर भन्नुभयो । त्यसले युद्धको क्रममा पीडा भोग्न बाध्य भएका उनीहरुको मन छोयो । मन यस अर्थमा छोयो कि साच्चै हाम्रा मान्छे आतंककारी भएकै कारण मारिएका हुन् त ? हत्या हिंसाकै घटना हो त ? राजनीतिक घटना होइन ? जनयुद्धको जगमा बसेर गणतन्त्र स्थापना भएको होइन ? त्यो केही पनि छैन ? खाली हत्या दिवस हो ? यो कुरा नेतृत्व तहबाट आयो,’– उनले भने ।