काठमाडौं, २४ फागुन । आज ८ मार्च विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला यसै अवसर पारेर एक प्राध्यापकले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक अपील गरेकी छन् । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरका विरुद्ध सात वर्षदेखि संघर्षरत प्रा. डा. उर्मिला प्याकुरेलले थप उपचारका लागि खर्च धान्न सक्ने अवस्था नरहेको भन्दै सहयोगका लागि सार्वजनिक अपील गरेकी हुन् ।
क्यान्सर लागेकै अवस्थामा अध्ययन अनुसन्धानलाई अगाडि बढाएर ३५ वर्षको उमेरमा विद्यावारिधि (पिएचडी) पूरा गरी ४१ वर्षको उमेरमा गत वर्ष त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित विभागमा सबैभन्दा कान्छी उमेरकी प्राध्यापक बनेकी हुन् । प्याकुरेलले हालसम्मको उपचार खर्च अनुसन्धानबाटै जुटाउँदै आएकी छन् ।
सिन्धुपाल्चोकको कालिका गाउँमा सामान्य किसान परिवारकी प्राध्यापक प्याकुरेलले नेपाल र जर्मनीमा उपचारका क्रममा साढे चार करोडभन्दा बढी खर्च भइसकेको छ । तर, यति गर्दापनि हालसम्म क्यान्सर पूर्णरुपमा निको भएको छैन । पूर्णरुपले क्यान्सर निको नभएपछि उनले अन्तिम विकल्पका रुपमा चिकित्सकको सुझावका आधारमा ‘इम्युनो थेरापी’ सुरु गरेकी छन् । उनले हालसम्म ६४ चरणको किमो थेरापी, रेडियो थेरापीलगायतका उपचार गरिसकेकी छन् ।
उनका अनुसार इम्युनो थेरापी कम्तीमा एक वर्षसम्म गर्नुपर्छ । एक चरणको उपचारका लागि २१ दिनमा करिब चार लाख लाग्छ । “अहिले अनुसन्धानका लागि फेलोसिप पनि नपाएकाले खर्च जुटाउन गाह्रो भयो”, प्रा.डा.प्याकुरेलले भनिन्,–‘सकेसम्म अरुको सहयोग लिने चाहना नभए पनि अब बाध्यता आइलागेको छ ।’ उनले महिलामा मात्र लाग्ने र निको हुने स्तन र पाठेघर तथा डिम्बाशयको क्यान्सरको पनि सुलभ उपचार नभएको गुनासो गरिन् ।
उनको अनुसन्धान गणितको व्यावहारिक प्रयोगबाट नेपालमा बढ्दो ट्राफिक समस्या समाधानमा केन्द्रित छ । उनले मधुश्री नामबाट साहित्य रचना पनि गरेकी छन् । उनको विद्यावारिधिका निर्देशक त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका अध्यक्ष प्रा. डा. टङ्कनाथ धमलाले प्रा. डा. प्याकुरेल एक उत्कृष्ट अनुसन्धाता रहेको र उनका कृति र अन्तर्राष्ट्रिय सञ्जाल निकै सफल रहेको बताए ।
विद्यार्थीलाई सिकाउन र सधैँ अनुसन्धान गर्न उत्सुक र सक्षम रहने प्रा.डा. प्याकुरेल अहिले पनि छ जना विद्यावारिधि र अरु स्नातकोत्तर तहका अनुसन्धानकर्ताहरुको शोध निर्देशक छिन् । प्रा. डा. धमलाले लागनशीलतामा अथक र नयाँ नयाँ अवधारणकी धनी प्रा. प्याकुरेल लामो समयदेखि उपचारमा रहँदा पनि निडर, साहसी, आत्मविश्वासी युवा वैज्ञानिक रहेको भन्दै सहयोगका लागि अनुरोध गरे ।
त्यस्तै, तीन वर्षदेखि प्रा. प्याकुरेलको उपचारमा संलग्न प्रा. डा. राजेन्द्र बरालले प्रा. प्याकुरेललाई आत्मविश्वास र उपचारले बचाएको उल्लेख गरे । अहिलेको उपचार भने उनको अन्तिम विकल्प रहेको र यो निकै महँगो भएकाले सहयोगको अपील गरे ।
प्रा डा प्याकुरेलका भाइ राजेन्द्र प्याकुरेलले निम्नवर्गीय परिवारको सदस्य भएर पनि दिदीले सानो उमेरमा नै शैक्षिक क्षेत्रमा उच्चतम सफलता प्राप्त गरेको र उनी परिवारको मात्र नभएर राष्ट्रकै गौरव भएको बताए । सात वर्षदेखि क्यान्सरलाई जितिरहेकी डा. प्याकुरेलको उपचारका लागि अन्तिम विकल्पका रुपमा इम्युनोथेरापी मात्र रहेको र उपचार अत्यन्त महँगो भएकाले आपूmहरु सहयोगको अपिल गर्न बाध्य भएको उनको भनाइ छ ।
उनलाई सहयोग गर्नका लागि काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बैंकको उर्मिला प्याकुरेलका नाममा रहेको खाता नम्बर ०१७१५१६२७२१ मा रकम जम्मा गर्न सकिन्छ ।