Logo

माओवादी नेताको एमालेलक्षित प्रश्न– गणतन्त्रको दुध चाहीँ खाने रगत र पिप बगेको जिम्मा नलिने ? (भिडियोसहित)



काठमाडौं, २५ फागुन । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति निर्वाचनकै दिन प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा पेसी तोकिनु ग्रान्ड डिजाइन भएको आरोप लगाएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रपति निर्वाचन र प्रचण्डविरुद्धको रिटमा पेसी एकै दिन तोकिनुलाई संयोग मान्न नसकिने बताएका हुन् ।
‘सिंगारी हराउनु र बाघ कराउनु संयोगमात्रै होइन होला जस्तो लाग्छ मलाई । ग्रान्ड डिजाइनअन्तर्गत भएको फण्डाहरु हुन जस्तो लाग्छ मलाई,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डमाथि पटक–पटक १७ हजारको हत्यारा भन्ने आरोप लागेपछि प्रचण्डले आफ्नो तर्फबाट भएको क्षतिलाई स्विकार्दै अरु पक्ष पनि जिम्मेवार हुनुपर्ने बताएको उनको दाबी छ । बोलेकै आधारमा मुद्दा दर्ता हुने परम्पराको विकास हुने हो भने यहाँ कोही पनि बाँकी नबस्ने उनले बताए । ‘यो लोकतन्त्रमा संविधानले ग्यारेन्टी गरेको सबैलाई बोल्ने अधिकार छ । बोलेको आधारमा सबैलाई मुद्दा दर्ता गर्दै जाने हो भने को रहन्छ यहाँ बाँकी ? कोही पनि रहँदैन । सबैले १७ हजार की १७ हजार भनेपछि द्वन्द्रवमा मारामार त हुन्छ त । १७ हजार मरेको हो । हाम्रोतर्फबाट यती हो, अरुले पनि जिम्मा लिनुपर्यो । मैलेमात्रै जिम्मा लिनुपर्छ भन्ने अर्थबाट उहाँले बोल्नुभएको हो । एउटा भावनाले बोल्नुभयो । बोलेकै आधारमा मुद्दा दर्ता गर्ने हो भने त तपाई पनि बाँकी नरहन सक्नुहुन्छ नि ?’– उनले प्रश्न गरे ।

नेपालको संविधान वृहत शान्ति सम्झौताको एउटा अंग भएकाले संविधानभन्दा बाहिर जाने छुट कसैलाई पनि नरहेको उनको दाबी छ । संविधान अन्तर्गत रहेका राज्यका अंगहरुले शान्ति सम्झौताको भावना विपरीत कायम गर्न नसक्ने उनले बताए । ‘वृहत शान्ति सम्झौताको अंग हैन यो संविधान ? यो संविधानको दायराभित्र रहेको होइन अदालत ? कि आकाशबाट झरेको हो यो अदालत ? कि चन्द्र ग्रहमा बस्नुहुन्छ उहाँहरु ? मलाई त त्यस्तो लाग्दैन । वृहत शान्ति सम्झौताबाट जन्मिएको संविधान हो । संविधानको मातहतमा रहने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका हुन्,’– उनले भने ।

विश्वमा व्यवस्था परिवर्तनका लागि सबै देशमा द्वन्द्व भएको र त्यसमा मानवीय क्षति भएको स्मरण गर्दै उनले गणतन्त्रको फल खानेले गणतन्त्र प्राप्तिका लागि भएको आन्दोलनको सबै पक्षको जिम्मा लिनुपर्ने बताए ।
‘गणतन्त्रबाट आएको दुध चाहिँ आफू खाने, गणतन्त्रमा बगेको रगत र पिप चाहिँ जिम्मा नलिने ? दुइटै चिज बग्छ नि । आमाले सन्तान जन्माउनका लागि त पिप पनि बग्छ, रगत पनि बग्छ नि ! सन्तान चाहिँ स्विकार्ने, रगत र पिप बगेको चाहिँ मेरो होइन भन्ने ? त्यो चाहिँ मिल्दैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot