काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेका छन् भने अरु दल र सांसदले मतदान गरेका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले पनि मतदान गरेका छन् ।
रास्वपाको आज बसेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सर्वसहमतिमा मतदान गर्ने निर्णय गरेको थियो । राष्ट्रपति निर्वाचनमा सर्वसम्मत भएपनि सर्वसम्मत भएको उम्मेदवारको नाम सार्वजनिक नगर्ने निर्णय भएको रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले बताए ।
निर्वाचन आयोगले जारी गरेको आचरसंहिता र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सन्बन्धी ऐन, २०७४ बमोजिम पार्टीको निर्वाचनमा ह्वीप जारी गर्न नमिल्ने भएकाले रास्वपाका सांसदहरुले आफ्नो स्वविवेक प्रयोग गरेका छन् । रास्वपाका सांसदको मत रामचन्द्र पौडेल र सुवास नेम्वाङको पक्षमा बाँडिएको आशंका गरिएको छ ।