Logo

प्रचण्डमाथिको मुद्दाले एक हुँदै माओवादी घटक



काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि सर्वोच्च अदालतमा रिट दर्ता भएपछि माओवादी घटकहरुले राजनीतिक भेटवार्ता बढाएका छन् । उनीहरुले फागुन २१ मा भएको राष्ट्रिय सभागृहको कार्यक्रममाबाट माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भए फेरि इतिहास दोहोर्याउनेसमेत चेतावनी दिइसकेका छन् ।
यसैबीच आज (शुक्रबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी घटकहरुको बैठक बसको छ । उक्त बैठकबाट शान्ति प्रक्रियाविरुद्ध षड्यन्त्र भइरहेको निष्कर्ष निकालिएको छ ।

बैठकले शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिको खण्डन गर्ने २८ गते सामुहिक पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ। बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने बताए। ‘शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका जुन प्रवृत्ति देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउने, शान्ति प्रक्रियाका काम छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेता मिलेर भन्ने कुरा भएको छ’,उनले भने, ‘३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्तिप्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने कार्यक्रम गर्ने निर्णय भएको छ ।’

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका नेताहरु सहभागी रहेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्