काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टी फुटाएर प्रतिक्रियावादीहरुमा समर्पित भएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्दै झण्डै दुई तिहाई नजिक रहेको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाएका हुन् ।
उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालको नाम नलिई भने–‘फउल खेल्नेहरुले दुई तिहाईमा झण्डै पुगेको पार्टीलाई कम्जोर बनाए । दुई तिहाईको हैसियतमा पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुस्चेष्टा गरे,’– उनले भने ।
साथै, बेइमानीले सफलता हासिल नहुने उनको भनाई छ । नेता नेपालले आफ्नो सफलता डिस्टक्सनमा देखेको उनको आरोप छ ।
अध्यक्ष ओलीले एमाले अन्य दलहरुको जस्तो फोहोरी खेलमा सहभागी नहुने उनको भनाई छ । एमाले सिल्भर तातेजस्तो क्षणिक नभएर दीगो हुने उनको दाबी छ । एमाले देश बनाउने अभियानमा रहेको उनको भनाई छ । एमाले छोटो दौडको कुदाइमा नरहेको र आफूहरुलाई हतार पनि नरहेको उनले बताए ।