Logo

विप्लवसहितका चार कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चा घोषणा



काठमाडौं, २६ फागुन । चार पूर्वमाओवादी घटकहरुले संयुक्त मोर्चा घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले संयुक्त मोर्चा घोषणा गरेका हुन् । ‘चार क्रान्तिकारी पार्टीको संयुक्त मोर्चा साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणबाट देशलाई मुक्त पार्ने, नेपालमा दलाल पुँजीवादी व्यवस्था एवं दलाल संसदीय व्यवस्थाको समूल नष्ट गरी नेपाली शोसित वर्ग र उत्पीडित समूदायको राज्य व्यवस्था स्थापना गर्ने जनक्रान्तिको हतियार हो,’– मोर्चाको संयुक्त घोषणापत्रमा भनिएको छ ।

संयुक्त मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले माओवादी आन्दोलन भन्नेवित्तिकै प्रचण्डलाई चिन्नु अस्वभाविक नभएको बताएका छन् । उनले माओवादी आन्दोलन आफूहरुको रगत र पसिनाबाट स्थापित भएको बताए । ‘माओवादी आन्दोलन वा समाजवादी क्रान्तिको सपना भन्नेवित्तिकै आम मानिसले देख्दा प्रचण्डहरुलाई देख्दा रहेछन् । यो अस्वभाविक पनि होइन । लामो समय हामी सबैको रगत र पसिनाबाट स्थापित जमातलाई देख्नु यो अन्यथा होइन,’– उनले भने ।

नेपालमा संसदवादी दलभित्र उदासिनता र बेचैनी रहेको उनले बताए । आफूहरु त्यसको ठीक विपरीत आशावादीता र समर्पणको राजनीतिमा रहेको उनको दाबी छ । ‘अवसरवादको हालीमुहाली छ । संसदवादी खेमाभित्र । ठीक त्यसको विपरीत क्रान्तिको निम्ती, समर्पणको निम्ती, निरन्तर बलिदानी, सिद्धान्तको रक्षा र सिर्जनात्मक प्रयोगका निम्ती, राजनीतिमा एउटा वर्ग संघर्षको ठूलो चाप निर्माणका लागि आशावादीता र समर्पणको साथ त्यो संसदवादाको विपरीत लडाइ चलिरहेको छ,’– उनले भने । शृङ्खला

माओवादी आन्दोलनका घटकहरुमा टुटफुटको श्रीङ्खला बन्द हुनुपर्ने उनको बुझाई छ । संख्या गन्दा माओवादी कति चिरा भयो भन्ननै मुस्किल भइरहेको अवस्थामा अब यो श्रीङ्खला रोकिनुपर्ने उनले बताए । ‘माओवादी आन्दोलन र परिवर्तनकामी आन्दोलनमा आएको टुटफुटको श्रीङ्खला छ । संख्याहरु गन्दै गयो भने कतिवटा भन्न मुस्किल छ । यो लहर अब रोकिनु पर्छ,’– उनले भने ।

त्यसैगरी नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धलाई विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन् । उनले जनयुद्धलाई छिन्नभिन्न पार्ने र लक्ष्यबाट विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने उनको चेतावनी दिएका हुन् । जनयुद्धको उपलब्धी सकाउने छुट कसैलाई पनि नभएको उनको भनाई छ । ‘जसले परिवर्तनको लडाई लड्यो त्यो शक्तिलाई छिन्नभिन्न पार्ने सोच्नु, निशस्त्र पार्ने सोच्नु या त्यसलाई आफ्नो मुख्य लक्ष्यबाट विचलित पार्ने सोच्नु भनेको देशलाई संकटमा धकेल्नु हो । धकेलिन्छ । नेपालमा हामीले कुनै अनुमानको कुरा गरेको होइन । तथ्यबाट हामीले लगातार भनेका छौं, जनयुद्धले नयाँ सत्ता विकास गर्यो । नयाँ व्यवस्था निर्माण गरेको थियो । नयाँ कानुन निर्माण गरेको थियो । नयाँ सेना निर्माण गरेको थियो । नयाँ राज्यको अवधारणालाई अगाडि ल्याएको थियो । त्यसलाई बदल्न दिइएन । यहाँ षड्यन्त्र भयो,’– उनले भने ।

साथै, अहिलेको संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको उनको बुझाइ छ । संसदीय व्यवस्थाको असफलताको असर सिंगो देशले नै चुकाउन परेको उनले बताए । ‘१२, १५ वर्षको अभ्यासमा व्यवहारिक ढंगले संसदीय व्यवस्था असफल भएको छ । दलाल पुँजीवादी व्यवस्था असफल भएको छ । त्यसको असफलताको मुल्य केवल संसद्वादी पार्टीहरु र त्यहाँ बस्ने दलालहरुलेमात्रै होइन सिंगै देशले चुकाउनु पर्ने या सारा जनताले चुकाउनु पर्ने दुःखद् परिस्थिति हाम्रा अगाडि छ,’– उनले भने ।

जनताको पक्षमा राज्यलाई रुपान्तरण गर्न नसक्दा त्यसको असर संसद्मा बस्नेले मात्र नभएर सिंगो देशले चुकाउनु परेको उनको दाबी छ । २०६४ देखि अहिलेको समयमा देश भुमरीमा फसिरहेको उनको बुझाई छ । राष्ट्र निर्माणमा लागेर देशलाई विकास र समृद्धिको यात्रातर्फ लैजानुपर्ने बेलामा अहिले कोही पनि मान्छे अहिलेको व्यवस्थाबाट सन्तुष्ट नभएको उनको दाबी छ । ‘आज हामीले हेरेको छौं, कोही पनि मान्छे आजको प्रणालीबाट, व्यवस्थाबाट र सरकारबाट सन्तुष्ट छैन । यो जुन परिस्थिति नेपालमा बनेको छ । यहाँ के सावित भएको छ भने हामीले यसको समाधान दिनपर्ने बेला आएको छ । यसको नेतृत्व गर्ने बेला आएको छ,’– उनले भने ।

यस्तो छ संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी



प्रतिक्रिया दिनुहोस्