काठमाडौं, २७ फागुन । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको नौ दलीय गठबन्धनलाई उपराष्ट्रपतिको उम्मेदवार चयनमा सकस भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनको बैठकले सर्वसम्मतिबाट उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नसकेको हो ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी र जनमत पार्टी दुवैले आफ्नो दाबी नछाड्दा गठबन्धनका दलबीच सकसको अवस्था आएको हो । उपराष्ट्रपतिमा जसपाले रामसहाय यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने जनमतले ममता झालाई उम्मेदवार बनाउँदै छ । त्यसैगरी नेकपा (एमाले) ले अष्ट्रलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।