Logo

आयोगको निर्देशनले १० दलीय गठबन्धन अलमलमा, प्रमिला उपराष्ट्रपतिको वैकल्पिक उम्मेदवार



काठमाडौं, २७ फागुन । उपराष्ट्रपति निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । त्यसैगरी १० दलीय सत्ता गठबन्धनका दलबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धन दलको बैठकमा साझा उम्मेदवार उठाउने विषयमा दलहरुबीच समझदारी बन्न नसक्दा जनमत पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएको छ भने सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादीले दुई जनालाई उम्मेदवार बनाएको छ ।

जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी संसदीय दलको नेतासमेत रहेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई जारी गरेको निर्देशनमा देखिएको अस्पष्टता र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिका कारणजसपाले महिलाबाट प्रमिला कुमारी यादवको पनि उम्मेदवारी दर्ता गराएको छ ।

आयोगका प्रमुख आयुक्त थपलियाले खस आर्य र पुरुष उम्मेदवारको उम्मेदवारी नै दर्ता नगर्ने प्रतिक्रिया दिएपछि १० दलीय गठबन्धनले प्रमिलालाई वैकल्पिक उम्मेदवारमा अगाडि सारेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेको साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ’ भन्ने व्यवस्था रहेकोले संवत् २०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग महिला वा अन्य वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ,’– भनी आयोगले निर्देशन जारी गरेको थियो ।

जसपाबाट रामसहाय र प्रमिला दुवैले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिविपरीत पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता हुँदा पनि निर्वाचन आयोग भने अहिलेसम्म मौन छ ।

नेपालको संविधानको धारा ७० मा र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा फरक लिङ्ग वा समुदाय भनी स्पष्ट व्यवस्था भएपनि प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिले १० दलीय गठबन्धन अलमलमा परेको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस्