काठमाडौं, २७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गरे।
मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताए। संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उनले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताए। उनले भने, “स्थानीय तह जनताको नजिकको सरकार हो। जनताको सुखदुःखको साथी हो।”
विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरे।