काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईलाई सुरुवातमै झट्का लागेको छ।
पहिलो ओभर बलिङ गर्न आएका ललित राजवंशीले पाँचौ बलमा युएईका ओपनर भरिटाया अरविन्दलाई शून्य रनमा आउट गरेका छन्।
२ सय ४९ रनको लक्ष्य पाएको युएई ताजा अवस्थामा २ ओभरमा १ विकेट गुमाउँदै ४ रनमा रहेको छ।
नेपालले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ४८ रन जोडेको हो।
टस जितरे पहिला ब्याटिङ् गरेको नेपालले खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले टिमको इनिङ्सलाई सम्हालेका थिए।
रोहितले ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनको योगदान गरेका छन्।
शून्य रनमा ओपनर आशिफ शेखलाई गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ८ रनमै गुमाएको थियो।
यस्तै, कुशल मल्ल ९ रनमा आउट हुँदा भिम सार्की २९ रन जोड्दै आउट भए।
आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झाले ३७ रनको योगदान दिए।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाउँदा सन्दीप लामिछानेले २ रन जोडे।
युएईका लागि आयन अफजल खान, जाहुर खान, जावर फरिद र रोहन मुस्ताफाले समान २/२ विकेट लिए।