Logo

विप्लवको चेतावनी– दलालहरुले आगोको भुङ्ग्रोमा मट्टितेल छर्किए, सबै षड्यन्त्र खरानी बनाउँछौं (भिडिओसहित)



काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले इतिहासमाथि हमला सुरु भएको टिप्पणी गरेका छन् । आज (आइतबार) माओवादी धारका नौ दलले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली जनताको इतिहासको हत्या गर्ने दुश्प्रयास भइरहेको बताएका हुन् । ‘आज एउटा इतिहासमाथि हमला सुरु भएको छ । नेपाली जनताको इतिहासमाथि हमला हुँदै छ र इतिहासको हत्या गर्ने दुश्प्रयास र दुश्सहास नेपाली राजनीतिमा देखापरेको छ,’– उनले भने ।

आफूहरु इतिहासको रक्षा गर्ने विन्दुमा आइपुगेको उनले बताए । सिंगै नेपाली जनताहरु आफ्नो इतिहासको रक्षाका लागि उभिनुपर्ने दिन आएको उनको भनाई छ । अहिले सिंहहरुले गरेको शिकारमा स्याल र व्वाँसाहरुले लुछाचुँडी गरिरहेको उनको आरोप छ । नेपाली जनताको तागतबाट आएको परिवर्तनलाई मुठ्ठीभरका दलालहरुले आफ्नो कब्जामा लिन खोजेको उनको आरोप छ । जनताको आडमा भएको परिवर्तनलाई अपराधीकरण गर्ने तत्वहरुलाई जवाफ दिने बेला आएको उनले बताए ।

‘सिंहहरुको शिकारमा व्वाँसा र स्यालहरुले लुछाचुँडी गर्ने खेल नेपालमा चल्दैछ त्यसलाई उचित जवाफ दिनु जरुरी छ । जसले जनताको तागतबाट जन्मिएको व्यवस्थालाई, जनताको तागतबाट आएको परिवर्तनलाई सीमित मुठ्ठीभरका दलालहरुको हातमा लगेर, दलाल पुँजीपति वर्गले कब्जा गरेर परिवर्तनका वहाक नेपाली जनता, राजनीतिक कार्यकर्ता र नेतालाई अपराधीकरण गर्न खोजिँदै छ । तिनीहरु यो देशमा टिक्न सक्नेछैनन् । तिनीहरुले जतिनै दुश्साहस गरेपनि यो आन्दोलन र हाम्रो प्रतिरोधका सामू टिक्न सक्नेछैनन् भन्ने कुरा हाम्रो स्पष्ट धारणा छ,’– उनले भने ।

नेपालमा जनता मुक्त भएको हेर्न नचाहने तत्वहरु रहेको उनले बताए । त्यस्ता तत्वहरुले विभिन्न खेलबाट सत्ता कब्जा गर्न खोजेको उनले बताए । देशमा निर्वाचित भएर आएको प्रधानमन्त्रीलाईसमेत राज्यले नियन्त्रणमा राख्न खोज्नुले सर्वसाधरण जनताको हालतलाई सजिलै अनुमान गर्न सकिने उनले बताए । यो राज्य नेपाली जनताको हातमा गइनसकेको उनको बुझाई छ । साम्राज्यवादीले नेपालको भू– भागमा आँखा गाडिरहेको उनले बताए ।

प्रचण्डमाथिको मुद्दा एउटा झिल्को मात्र भएको उनले बताए । अलिकति भएको परिवर्तनलाई उल्टाएर मुठ्ठीभरको दलालहरुको हातमा पुर्याउने षड्यन्त्र भइरहेको उनको दाबी छ । अहिले नेपाली जनताले बोल्न नपाई रहेको अवस्था रहेको उनले बताए । ‘बोल्न दिइएको छैन यहाँ । सही कुरालाई उठाइएको छ । कारबाही गरिएको छ । त्यसैले हरेक परिवर्तन पछि त्यसको स्वामित्व जनताको हातमा आयो कि आएन ? त्यो कुरा निर्णायक हुन्छ । आगोको भुङ्ग्रोमा दलालहरुले मट्टितेल छर्किए । त्यसमा भर्भराउँदो भएर माओवादी उठ्यो भने सबै षड्यन्त्र खरानी हुनेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot