Logo

ग्लिटर फ्युचर स्कुलको २१औं वार्षिकोत्सव सम्पन्न



काठमाडौं, २८ फागुन । भक्तपुरको बारहीस्थानमा अवस्थित ग्लिटर फ्युचर स्कुलको २१औं वार्षिकोत्सव सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालयको २१औं वार्षिकोत्सव सम्पन्न भएको हो । विद्यालयका संचालक तथा अध्यक्ष जिवेश सिटिखूको सभापतित्वमा संचालन भएको कार्यक्रममा भक्तपुर ४ का अध्यक्ष उपेन्द्र सुवाल र नेशनल प्याब्सन बागमती प्रदेश उपाध्यक्ष पुण्यराम कवां र राष्ट्रिय युवा परिषदका सदस्य मुकेश योन्जनले शुभकामना मन्तव्य दिए ।

नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयले गरेका शैक्षिक एवं अनिवार्य क्रियाकलापको चर्चा गर्दै अभिभावकहरुलाई स्कुलप्रति सकारात्मक भूमिकामा रहि आफ्ना बालबालिकाहरुलाई अध्ययनमा प्रेरित गर्न आग्रह गरे । खड्काले ग्लिटर फ्युचर स्कुल भक्तपुर नगरपालिकाको एक अब्बल र उत्कृष्ट निजी स्कुल भएको बताए । साथै, अभिभावक एवं विद्यार्थीको विश्वास जित्न र शैक्षिक उन्नयनमा उत्तरदायी छाप छोड्न अग्रसर देखिएको भन्दै उनले विद्यालयको प्रशंसा गरे ।

कार्यक्रममा एसईई वर्ष २०७५ देखि २०७८ मा उत्तीर्ण हुने पूर्वविद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान र कक्षागत शैक्षिक पुरस्कारका साथै अनिवार्य क्रियाकलापमा विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका संचालक प्रिन्सिपल रामप्रसाद खाताखोले विद्यालयको गतिविधि प्रष्ट्याउदै अभिभावक तथा विद्यार्थीहरुलाई सहजता प्रदान गर्न स्कुल बस र दिवा खाजाको व्यवस्था गरिएको बताए ।

प्रिन्सिपल खाताखोले ग्लिटर फ्युचरमा “एक विद्यार्थी एक खेल” अभियान सुरु गरेको समेत उल्लेख गरे । विद्यार्थीहरुको विविध साँस्कृतिक प्रस्तुति, प्रतिभा प्रस्फुटन र खेल प्रस्तुतिहरु राखिएको सो कार्यक्रममा अतिथिहरु नेशनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष दिनेश शाक्य, विनोद लामा, श्रीराम सुवाल लगाएतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्