काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले जनयुद्ध र मधेश आन्दोलन लगायतका उपलब्धीहरु प्रतिगमनतर्फ जाने खतरा बढेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धीको रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एक ठाउँमा उभिएको बताए । प्रचण्डमाथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा दर्ता हुनु र अदालतले कारण देखाउ आदेश जारी गर्नु नै गलत भएको उनले बताए ।
प्रचण्डको पछि फेरि तपाईहरु किन लाग्नुभयो ? भन्ने धमलाको प्रश्नमा उनले भने,–‘अगाडि र पछाडी भन्ने हो भने त प्रचण्डजी अरुको पछाडि लागेको भन्न पनि मिल्छ । राजनीतिमा अगाडि र पछाडिको कुरा होइन । मुख्य कुरा एजेण्डाको कुरा हो । यदि जनयुद्धको उपलब्धी, सम्मान र गौरवलाई कसैले छेड्खान गर्छ भने, हामी त्यसबेला त्यसको पक्षमा लड्नेहरुसँग एउटा बुँदामा भएपनि सँगै उभिन्छौं । उभिनै पर्छ । अहिले प्रचण्डजी सँगको सहकार्य हाम्रो यतिमात्रै हो । जनयुद्ध, मधेश आन्दोलन लगायतका गौरवमाथि छेडखान हुन थाल्यो । त्यसको सीमित उपलब्धीपनि प्रतिगमनमा जाने खतरा हुन थाल्यो । विस्तृत शान्ति सम्झौतामाथि अपमान हुनथाल्यो । त्यसकारण त्यो बुँदामा हामी एक ठाउँमा उभिएका हौं ।’