Logo

उपराष्ट्रपतिका उम्मेद्वार यादवको चुनावी अभियान– मत माग्न डिल्लीबजार कारागारमा



काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टीका नेता एवं उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव र नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । चौधरीलाई भेट्न यादव डिल्लीबजार कारागार पुगेका थिए ।

उपराष्ट्रपतिको चुनाव नजिकिएसँगै उनले भेटवार्ता तीब्र बनाएका छन् । सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेको बताइएको छ । जसपा सांसद प्रदीप यादवले रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै भेटबारे पुष्टी पारे ।

‘भेट भएको हो । उहाँले भन्नु भयो, हाम्रो पार्टी गठबन्धनमा छ । गठबन्धनको उम्मेदवार रामसहाय यादवलाई नै भोट दिन्छ । बाहिर आएको हल्ला निराधार हो । म क्लियर छु । हाम्रो पार्टी क्लियर छ । यो विषयमा हाम्रो पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठजीले विज्ञप्ति निकाल्न पर्छ भनेपनि तयार छौं भन्नु भएको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्