Logo

उपराष्ट्रपतिमा गठबन्धनको आधिकारिक उम्मेदवार को ? प्रमिलाको यस्तो छ दाबी…



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादवले पार्टी र गठबन्धनबाट उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार रामसहाय प्रसाद यादव भएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धनका नेताहरुको सल्लाह बमोजिम नै जसपाबाट दुई जना उम्मेदवार बनेको र आधिकारिक चाहिँ रामसहाय नै भएको बताएकी हुन् ।

‘जनता समाजवादी पार्टी नेपालको आधिकारिक उम्मेदवार माननीय रामसहाय यादव हुनुहुन्छ । गठबन्धनले दुई वटा उम्मेदवारी दिन भनेको हुँदा हाम्रो अध्यक्ष उपेन्द्र यादवले मलाई पनि उम्मेदवारी दिन भन्नुभयो । पार्टीकै सल्लाह अनुसार मैलेपनि उम्मेदवारी दिएकी हुँ,’– उनले भनिन् ।

रामसहाय असल स्वभावको नेता र आफूभन्दा सिनियर भएको कारण पनि रामसहायलाई समर्थन गरेको प्रमिलाको दाबी छ । मधेश र देशका लागि अहिले उपराष्ट्रपतिमा रामसहायको आवश्यकता भएको उनले बताए । साथै, संघीयता विरोधी शक्तिको हालिमुहाली भएको उनले बताए । संघीयताको पक्षमा निरन्तर लडिरहेका उपेन्द्र यादव उपनिर्वाचनबाट संसद्मा आउन आवश्यकता रहेको उनले बताइन् । संघीयता विरोधी शक्तिलाई परास्त पार्न संसद्मा उपेन्द्रको आवश्यकता भएको उनको दाबी छ । उनले महन्थ ठाकुर र सिके राउतसँग पनि देशको संघीयता रक्षाका लागि उपेन्द्र यादवलाई उपनिर्वाचनमा उपेन्द्रलाई जिताउन आग्रह गरिन् ।

‘उपेन्द्रजीलाई उपनिर्वाचनमा उठाउने कुनै निर्णय हाम्रो पार्टीमा भएको छैन । उहाँजस्तो अनुभवी लिडरको देशलाई आवश्यकता छ । उहाँले मधेश जनविद्रोहको नेतृत्व लिनुभएको थियो । आज देशमा जुन संघीयता छ, त्यसको संस्थापक लिडर उपेन्द्रजी हुनुहुन्छ । संघीयता अहिले धरापमा पर्न लागेको छ । संघीयता विरोधी शक्तिहरुको हालिमुहाली छ देशमा । त्यस्ता शक्तिलाई परास्त गर्नका लागि उपेन्द्र यादवको अतिनै आवश्यक भएको हुँदा उहाँले उपचुनाव जितेर संसद् छिर्नु जरुरी छ । यदि संघीयता मधेशमा चाहिन्छ भने, देशमै संघीयता चाहिँन्छ भने उपेन्द्रजीलाई उपनिर्वाचनद्वारा जिताएर ल्याउन म अनुरोध गर्छु,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्