Logo

उपेन्द्रको ‘संसद् इन्ट्री’ किन चाहदैनन् मधेशवादी दलहरु ?



काठमाडौं, १ चैत्र । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार बनेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवको संसद् इन्ट्रीको चर्चा चल्न थालेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका उपेन्द्र पार्टीको गड मानिने बारा क्षेत्र नं २ मा उपनिर्वाचनबाट प्रतिनिधि सभामा इन्ट्री चाहन्छन् । साथै, जसपाका नेता तथा कार्यकर्तालेसमेत उपेन्द्रलाई बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा सहभागी हुन आग्रह गरिरहेको जसपा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी यादव बताउँछिन् । आफूहरुले सिके राउत, महन्थ ठाकुर लगायतका मदेशवादी दलहरुबाट प्रतिस्पर्धा भन्दा पनि सहकार्यको अपेक्षा गरेको उनको भनाई छ । देशमा संघीयता ल्याउन र मधेश आन्दोलनलाई सफल बनाउनका लागि उपेन्द्रको महत्वपूर्ण भूमिका रहेको प्रमिलाको दाबी छ । अहिले देशमा संघीयता विरोधी तत्वहरु सल्वलाइरहेको अवस्थामा त्यस्ता तत्वहरुलाई परास्त पार्नका लागि पनि उपेन्द्र यादव उपनिर्वाचन जितेर आउन आवश्यक रहेको उनको दाबी छ ।

‘उपेन्द्रजीलाई उपनिर्वाचनमा उठाउने कुनै निर्णय हाम्रो पार्टीमा भएको छैन । उहाँजस्तो अनुभवी लिडरको देशलाई आवश्यकता छ । उहाँले मधेश जनविद्रोहको नेतृत्व लिनुभएको थियो । आज देशमा जुन संघीयता छ, त्यसको संस्थापक लिडर उपेन्द्रजी हुनुहुन्छ । संघीयता अहिले धरापमा पर्न लागेको छ । संघीयता विरोधी शक्तिहरुको हालिमुहाली छ देशमा । त्यस्ता शक्तिलाई परास्त गर्नका लागि उपेन्द्र यादवको अतिनै आवश्यक भएको हुँदा उहाँले उपचुनाव जितेर संसद् छिर्नु जरुरी छ । यदि संघीयता मधेशमा चाहिन्छ भने, देशमै संघीयता चाहिँन्छ भने उपेन्द्रजीलाई उपनिर्वाचनदुवारा जिताएर ल्याउन म अनुरोध गर्छु,’– प्राइम टाइम्स टेलिभिजनका लागि ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन् ।

तर, उपनिर्वाचनबाट उपेन्द्रको सांसद इन्ट्री भने त्यत्ति सहज छैन । उनलाई मधेशवादी दलहरुबाटै खतरा रहेको छ । मधेशमा भर्खरै उदाउँदै गरेको राजनीतिक शक्ति जनमत पार्टी, जसपाबाटै फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी लगायतले उपेन्द्रलाई संसद् छिर्न नदिने खेल खेलिरहेका छन् । जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गर्ने सहमति गरिसकेका छन् । तीन पार्टीले कार्यगत एकताबाट साझा उम्मेदवार उठाएर एमालेको पनि समर्थन जुटाउन सकेमा उपेन्द्रको विरुद्धमा बारा क्षेत्र नम्बर २ पनि पल्लाभारी हुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्