Logo

विद्यार्थीहरुले देशको व्यवस्था फेरे तर विश्वविद्यालयको अवस्था फेरिएन– दुजाङ शेर्पा



काठमाडौं, २ चैत्र । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुको आन्दोलनले देशको व्यवस्था परिवर्तन भएपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन नसकेको बताए ।  नेविसंघ केन्द्रीय समितिले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले लामो समयसम्म स्ववियु् निर्वाचन हुननसक्दा विश्वविद्यालयमा विविध समस्या देखापरेको उनले बताए । ‘व्यवस्था परवर्तन भएपछि पनि अझैपनि विश्वविद्यालयको अवस्था परिवर्तन हुन सकेको छैन । आज सानो–सानो कुराहरु समयमा परीक्षा नहुने, समयमा नतीजा नआउने र लामो समयसम्म विद्यार्थीहरुले नतीजा कुर्नुपर्ने, नतीजा कुर्दाकुर्दै खाडी देशमा जानुपर्ने अवस्था हामीले देखिरहेका छौं,’– उनले भने ।

विद्यार्थीहरुका हातमा ब्याचलर र मास्टर्सका प्रमाणपत्र भएपनि उनीहरुले सामान्य इन्टर्नका लागिसमेत हारगुहार गर्नुपर्ने अवस्था रहेको उनले बताए । हातमा विश्वविद्यालयको प्रमाणपत्र भएपनि मार्केटमा जब नभएको उनले बताए । लामो समयसम्म स्ववियु निर्वाचन नहुनुको परिणाम देशमा अहिले दुई थरीको शैक्षिक संस्थाको स्थापना भएको उनले बताए । त्यसैगरी अहिले सरकारी र सामूदायीक क्याम्पसहरुमा ल्याव र लाइब्रेरी लगायतका समस्या जस्ताको तस्तै रहेको उनले बताए । विश्वविद्यालयको अवस्था सुधारको लागि पनि स्ववियु निर्वाचनमा नेविसंघको जीत अपरिहार्य भएको शेर्पाले बताए ।

‘आज विद्यार्थीको हातमा ब्याचलर र मास्टर्सको सर्टिफिकेट छ । तर, सामान्य इन्र्टन गर्नका लागि पनि हार गुहार गर्नुपर्ने, पावर लगाउनु पर्ने जस्ता कठिनाई विद्यार्थीहरुले भोगिरहनु भएको छ । हातमा सर्टिफिकेट छ तर मार्केटमा जब छैन । आज देशमा दुई वर्गको पढाई भइरहेको छ । सरकारी र सामुदायिक क्याम्पसमा ल्याव र लाइब्रेरीको व्यवस्था भएको छैन । विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन नसक्नुको कारण यो अपस्था आयो,’– उनले भने ।

विश्वविद्यालयले आफ्नो विश्वसनीयता कायम गर्न नसक्दा आज विश्वविद्यालयमा विद्यार्थी संख्या घटिरहेको उनको बुझाई छ । समयमा परीक्षा नहुने, समयमा नतीजा प्रकाशन नहुने, प्रश्नपत्र दोहोरिने लगायतका कारण विश्वविद्यालयले आफ्नो विश्वसनीयता गुमाइरहेको उनको आरोप छ । साथै, अब नेतृत्वले पनि आफूले बोलेको कुरा पुरा गर्न नसक्दा आफ्नो विश्वसनीयता गुमाइरहेको उनले बताए । विद्यार्थी र विश्वविद्यालयका मुद्दामा गम्भीर भएर काम गर्न पनि उनले नेविसंघका नेता तथा विद्यार्थीलाई आग्रह गरे । निर्वाचन अघि घोषणापत्रमा उल्लेख भएका संकल्पहरु पुरा गर्नका लागि तयार रहन पनि उनले नेतृत्वलाई आग्रह गरे । स्ववियु निर्वाचनले देशैभरि शिक्षित नेतृत्वको विकास हुने पनि उनले विश्वास व्यक्त गरे । विद्यार्थीका समस्या, पुस्तकालय, ल्याब, लाईब्रेरी, विद्यार्थीको स्वास्थ्य लगातका कुरालाई नेपाल विद्यार्थीसँघले विशेष महत्व दिएको उनको दाबी छ ।

अहिले नेविसंघभित्र रहेका असन्तुष्टी र समस्या स्ववियु निर्वाचन पछि बसेर टुंग्याउन पनि उनले असन्तुष्ट पक्षसँग आग्रह गरे । आगामी चैत्र पाँच गते हुँदै गरेको स्ववियु निर्वाचनमा सहयोग गर्न उनले नेविसंघका सबै विद्यार्थी तथा नेताहरुलाई आग्रह गरे । ‘केही साथीहरुमा असन्तुष्टी छ भने सबै कुराहरु स्ववियु चुनावपछि हामी सबै जना बसेर वहस र छलफलबाट टुंग्याउँ । सबैजना एकीकृत भएर यसलाई सफल बनाउँ । यो चौध वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचनलाई अझैपनि धेरै ठाउँबाट भाँड्ने काम हुँदैछ । यो स्ववियु निर्वाचन कुनै पनि हालतमा भाँडिनु हुँदैन । यदि त्यस्तो प्रपञ्च भयो भने त्यसको प्रतिकार नेविसंघले गर्छ । सबै साथीहरुलाई यसको प्रतिकार गर्न तम्तयार भएर बस्न आग्रह गर्छु,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्