काठकाडौं, ३ चैत्र । सङ्घीय संसद् नयाँ बानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ ।
अहिलेसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।
अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ ।