काठमाडौं, ३ चैत्र । नेपालको राजनीतिमा महिला आन्दोलनको इतिहासलाई हेर्ने हो भने साहाना प्रधानपछि अष्टलक्ष्मी शाक्य (बोहरा) को नाम सबैभन्दा अग्रस्थानमा आउँछ । उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री पनि हुन् । बागमती प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेकी शाक्य उमेरले अहिले ६८ वर्ष पुगिन् । शाक्य २०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । दशैंको अष्टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी भएको उनी आफैंले बताउने गरेकी छन् । २०२९ सालमा एसएलसी पास गरेकी शाक्य २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन् । भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलाममा पक्राउ परिन् । पछि अखिल नेपाल महिला संघको अध्यक्षसमेत भइन् । शाक्य निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृमध्येमा पर्छिन् ।
शाक्य २०५६ साल र २०७० सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । यसअघि दुईपटक मन्त्री भइसकेकी शाक्य गत २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट ५ हजार १ सय ६९ मतसहित नेपाली कांग्रेसका उम्मेदवार देवरत्न डंगोललाई पराजित गर्दै निर्वाचित भएकी थिइन् ।
उक्त निर्वाचनलगत्तै मुख्यमन्त्रीमा दाबी गरेकी शाक्य त्यसबेला माधव नेपाल पक्षधर भएकै कारण मुख्यमन्त्री बन्नबाट बञ्चित भईन् । डोरमणि पौडेल मुख्यमन्त्री बनेपछि उनी प्रदेशसभा सदस्यमा सिमित बनेकी थिइन् । पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्यले २०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहरासँग अन्तरजातीय जनवादी विवाह गरेकी थिईन्। बोहरा एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्षसमेत हुन् । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा शाक्यको योगदान कुनै पनि पुरुष नेताको भन्दा कम छैन ।
दुई दुई कार्यकाल पार्टीको उपाध्यक्ष, पटक–पटक मन्त्री सांसद बनेर नेपालको महिला आन्दोलनलाई उचाइमा पुर्याउन महत्वपुर्ण भूमिका खेलेकी शाक्य पार्टीलाई संकट पर्दा सतिसालझै उभिदै आएकी छिन् । जसको प्रत्यक्ष उदाहरण हो, २०७८ भाद्रमा तत्कालीन एमालेभित्रको अन्तरविरोध र कलहले पार्टी फुटको संघारमा पुग्दासमेत फाईदा र घाटालाई बेवास्ता गर्दै एमाले जोगाउन लागिपरिन् । उनले चाहेको भए एकीकृत समाजवादीमा लागेर झण्डै २ वर्षसम्म मुख्यमन्त्री बन्न सक्थिन । तर, पार्टी र नेपालको कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि नियुक्त भएको दुई महिनामै मुख्यमन्त्री पद त्याग्न तयार भईन् । उनले चालेका राजनीतिका प्रायजसो कदमले साथ दिएता पनि उनलाई उपराष्ट्रपति पद भने अफापसिद्द भएको छ ।
शाक्यलाई एमालेले उपराष्ट्रपति पदको उम्मेदवार बनाएको यो पहिलोपटक होइन । एमालेले गणतन्त्र स्थापनापछि २०६५ श्रावण ४ मा पहिलोपटक राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुँदा रामप्रित पासवानलाई राष्ट्रपति र शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर, त्योबेला संसद्मा कमजोर रहेको एमाले र शक्तिशाली रहेको माओवादी , कांग्रेसबीचको खिचातानिले मुलुक संकटमा फस्ने खतरा बढेपछि राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामवरण यादव र उपराष्ट्रपतिमा मधेशी जनअधिकार फोरमका परमानन्द झालाई सघाएको थियो । शाक्यले जम्मा ४ मत मात्रै पाईन् । उनी नेपालकै पहिलो महिला उपराष्ट्रपति बनेर इतिहास लेखाउन असफल भईन् ।
उनले २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले दिएको काठमाडौं क्षेत्र नं ८ को टिकट त्यागेर संसदीय राजनितिबाट बिदा लिएको घोषण गरिन् । पार्टी अध्यक्ष केपी ओलीले पटक–पटक आग्रह गर्दापनि उनले टिकट अस्विकार गर्दै युवा (शिबराज बैद्य, विद्यासुन्दर शाक्य) लाई अवसर दिन आग्रह गरिन् । यो घोषणलाई धेरैले निर्वाचन पछि एमालेको बहुमत आएको अवस्थामा उनि राष्ट्रपतिको दावेदारको रुपमा लिए । तर, फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बने । गत फागुन २७ मा बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्यो । ‘महिला पनि, जनजाति पनि र पुरानो पनि, उहाँलाई उठाउँदा महत्व फरक हुन्छ’ भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव राखेका थिए ।
अघिल्लो दिन दिउँसो मात्रै बैठक बस्ने सूचना पाएर पार्टी केन्द्रीय कार्यालय पुगेकी शाक्यले ओलीको प्रस्ताव स्वीकारिनन् । ‘मलाई इच्छा छैन, अरुलाई गरौं’, शाक्यको जवाफ थियो । तर ओलीले फेरि भने, ‘हामीले उठाउने क्यान्डिडेट इतिहास भएको, क्षमता भएको, प्रतिष्ठा भएको व्यक्ति हुनुपर्छ । तपाईं सबै हिसाबले उपयुक्त हुनुहुन्छ ।’ पार्टीको प्रतिष्ठाकै निम्ति शाक्य उम्मेदवार बन्नुपर्ने ओलीको तर्कमा अरु पदाधिकारीले पनि साथ दिए । ‘अरुले पनि पार्टीको प्रतिष्ठा बढाउने कुरा छ भनेपछि शाक्य उम्मेदवार बन्न तयार भएकी थिईन् ।
आज भएको निर्वाचनमा रामसहाय प्रसाद यादव ३० हजार ३ सय २८ मत प्राप्तगरी उपराष्ट्रपतिमा निर्वाचित हुँदा शाक्यले १६ हजार ३ सय २८ मत पाईन्। उनलाई एमालेका प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका सांसदले मत दिए । त्यसैगरी, बामदेव गौतम र स्वतन्त्र सांसद योगेन्द्र मण्डललेसमेत उनको पक्षमा मतदान गरे ।
२०६५ र अहिलेको राजनीतिक अवस्था उस्तै भएतापनि त्योबेला एकढिक्का रहेको एमाले विभाजन हुनु, त्यो बेलाको सहयात्री दल कांग्रेसको साथ नहुनु, परिस्थिति एमाले अनुकूल नहुनु लगायतको कारण शाक्य यसपटक पनि नेपालको तेस्रो एवं पहिलो महिला उपराष्ट्रपति असफल भईन् । दोस्रो पटक पनि पराजित भएकी शाक्यलाई संसदीय राजनीतिमा सफलता प्राप्त भएपनि उपराष्ट्रपति अफापसिद्द भएको छ ।