काठमाडौं, ३ चैत्र । नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाली सेनामाथि विभिन्न तरिकाबाट आक्रमण भइरहेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा ‘के हो नेपाली सेना ? के होइन नेपाली सेना ?’ भन्ने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बस्न्यातले यो देश र नेपाली सेनामाथि विभिन्न तरिकाबाट खतरा बढेको बताएका हुन् । नेपालको रक्षका लागि हजारौं नेपाल आमाका छोराछोरीले प्राण आहुती दिएको स्मरण गर्दै उनले अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतीय शक्तिहरु सल्बलाइरहेको आरोप लगाए । ‘अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतहरु लागिरहेका छन् । अहिले माओवादी अगाडि छैन । ऊ पछाडि छ । पछाडि बसेर अर्कालाई धकेलिरहेको छ,’– उनले भने ।
साथै, नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया नगरेको उनको आरोप छ । कांग्रेस सरकारमा आएको बेला विभिन्न तरिकाबाट सेनालाई दुःख दिने र सेनाको संगठनमाथि नै आँच आउने कार्य भएको उनको आरोप छ । ‘नेपाली कांग्रेसले सेनालाई कहिले पनि माया गर्दैन । म हजारौं उदाहरण दिनसक्छु । जहिले पनि राजा महेन्द्र र विपीलाई थुनेको मात्रै ? जहिले नेपाली कांग्रेस सरकारमा आयो, हाम्रो भत्ता काटेको छ । विदाको पैसा काटेको छ । लप्टनलाई सुब्बा बनाउँछ,’– उनले भने ।
अहिले नेपामा भारतीय गुप्तचर संस्था रअको ठूलो हात रहेको उनको आरोप छ । यहाँ नेपाली कांग्रेसको खोल ओढेर विदेशी शक्तिहरुलाई नेपालमा प्रभाव पार्न दिने कामहरु भइरहेको उनले बताए । नेपाली सेनालाई कमजोर बनाउने खेल नेपालभित्रै बाट भइरहेको उनको बुझाई छ । तर, नेपाली सेना उनीहरुको योजनाअनुसार कहिले पनि नढल्ने उनले बताए । ‘अहिले यहाँ रअ ले उचालेर जुन पात्रहरु लागिरहेका छन् । तिमीहरु कुनै विश्वविद्यालयमार्फत परिचालित भइराखेका छौ । वर्तमान राष्ट्रपतिज्यू तपाईँका दलमा आवद्ध केही व्यक्तिहरु यहाँ विदेशीको इसारा नेपाली सेना ढाल्ने पक्षमा छन् । तर, ढल्ने छैन । हात्ति को ढाडमा भुसुनो चढेर झिँगाले डिंगो मर्दैन । तपाईँरु अहिले जरा काट्दै हुनुहुन्छ । हामी पर्यो भने जरा काट्नेको के–के काट्नसक्छौं ? त्यो शक्ति र क्षमता छ हामीसँग,’– उनले भने ।
आगामी दिनमा अरु कर्मचारीहरुको जस्तो ट्रेड युनियन सेनामा हुन नहुने उनको भनाई छ । भूपु र बहालवाला सेनाहरुको एकता बलियो हुन आवश्यक रहेको उनले बताए । सेना विधिको शासनमा चलेको हेर्न आफूले चाहेको उनले बताए । देश रोएर बसेको अवस्थामा संविधानमात्रै हाँसेर बसेर नहुने उनले बताए अहिलेको संविधानमा रहेर चार वटा टाउका मात्रै हाँसेको उनको आरोप छ । ‘हामी भूपुहरु सेनाको पछाडि छौं । जनता तिम्रो पडाडि छ । के हेरेर बस्छौ ? संविधान, संविधान मात्रै भनेर ? संविधानमा के संशोधन गर्ने हो ? संविधान फाल्ने हो की के गर्ने हो ? के संविधानको मात्रै हामी नोकर हौं ? देश रोएर बस्दा संविधानमात्रै हाँसेर बसेर हुन्छ ? चार जना पाँच वटा टाउका मात्रै हाँसेर बसेर हुन्छ ?,’– उनको प्रश्न छ ।
साथै, तत्कालीन विद्रोही माओवादीका केही नेताहरुले अहिले पनि सडकमा आएर मार्ने धम्कि दिइरहेको बताए । उनले माओवादीका नेताहरुलाई फेरि पनि युद्ध गर्ने हो त ? भनि प्रश्नसमेत गरेका छन् । ‘के थियो जनयुद्ध भन्ने त्यो ? अहिले सडकमा आएर यसलाई मार्छु, त्यसलाई मार्छु ! खबरदार कहाँबाट आयो यो शक्ति फेरि ? फेरिपनि युद्ध नै गर्ने हो त ?’ उनले प्रश्न गरे ।
त्यसैगरी, पूर्वसहायक रथी तथा पूर्वराजदूत भरतबहादुर रायमाझीले देशको रक्षाका लागि नेपाली सेनाको संख्या बढाउन पर्ने बताएका छन् । अहिले सेन देशका लागि बढी भयो, सेतो हात्ति जस्तै भयो भन्ने विविध हल्ला चलेपनि देशको रक्षाका लागि सेनाको संख्या अझ बढाउन पर्ने उनले बताए । ‘सेना ठूलो भयो । सेना सेतो हात्ति भयो भन्ने कुरामा विश्वास नगर्नुस् । सेना हामीलाई अझ बढी चाहिन्छ । त्यसपछि मात्रै देशको रक्षा हुन्छ,’– उनले भने ।
साथै, देश रक्षामा सबैभन्दा ठूलो भूमिका नेपाली सेनाको रहेको उनले बताए । नेपालमा सुरक्षाको क्षेत्रमा छुट्याइएको बजेटसमेत अत्यन्त कम भएको उनले बताए । सेना व्यारेकमा बसेर खाएको हुन्छ भन्ने आम मानिसमा भ्रम रहेको उनले बताए । सेनाले गरेको धेरै कार्यहरु जनताको साथमा आउन नसकेको उनले बताए ।
कार्यक्रममा सम्बोधन गर्दै अर्का वक्ता त्रिलोक चन्दले सेनाले जहिले पनि नेपाली जनताको हितमा रहेर काम गरेको दाबी गरे । तत्कालीन माओवादी जनयुद्धको प्रसंग जोड्दै उनले सेना नेपाली जनताको रक्षाको लक्ष्य भन्दा बाहिर गएको भए अहिले सरकारमा भएकोहरु त्यतिबेला नै नर्कमा पुग्ने टिप्पणी गरे । ‘हिजो जनशक्तिको नाममा, जनविद्रोहको नाममा भएको जुन विद्रोह थियो, त्यसलाई दवाउनको निमित्त सेनालाई प्रयोग गर्न खोजिएको थियो । तर, वास्तवमा सेना अगाडि बढेको भए आज तिनीहरु सत्तामा हुँदैनथे । कुनै कालकोठरीमा बस्थे वा नर्कको बास भइसक्थ्यो,’– उनले भने ।
सेनाले आफ्नो विवेक प्रयोग गरेर तत्कालीन शसस्त्र विद्रोहमा नेपाली जनताका छोराछोरीको रगत बग्न रोकेको उनले दाबी गरे । आफ्नो गौरवको इतिहास भएको नेपाली सेनालाई अहिले विदेशी शक्तिहरुको आडमा चीर हरण गर्ने क्रियाकाप भइरहेको उनको आरोप छ । ‘सेनाले आफ्नो अदम्य शाहस र क्षता देखाएर तत्कालीन विद्रोहीहरुलाई सफाया गर्ने थियो । नेपाली जनताको रगतलाई माटोमा बग्न दिएन । तर, ती तथाकथित शक्तिहरुले विदेशीको भर गरेर नेपाली सेना चीर हरण गरे,’– उनले भने ।
नेपाली सेनाले आर्जेको मुलुकमा विकृति र बेथिति बढ्दा पनि सेना टुलुटुलु हेरेर बसिरहेको उनले आरोप लगाए । सेनाले अहिले आफ्नो अस्तित्व बचाउन नसकेको उनको आरोप छ । नेपाली सेना कसैको दास बन्न नहुने उनको भनाई छ । हिजो विद्रोहीको नाममा ४२ अर्ब भ्रष्टाचार हुँदा पनि सेना बेल्न नसकेको उनले बताए । ‘राज्यका कुनै पनि अंगले काम गरिरहेको अवस्था छैन । तर, आज नेपाली सेना किन मौन बसिरहेको छ ? आजसम्म सेना टुलुटुलु बसेको किन ? के हेरेर बसेको छ सेना ?’– उनले प्रश्न गरे । तत्कालीन विद्रोही शक्ति सेनामाथि लगाएको आरोप अझै पखालिन बाँकी रहेको उनले बताए । सेनाको परमाधिपति मारिदासमेत नेपाली सेना बोल्न नसकेको उनको आरोप छ ।
‘हिजो विद्रोही शक्तिले लगाएको दोष सेनाले पखाल्न सकेको छैन । हिजो राजामात्रै मारिएको हैन । यो देशको परमसेनाधीपति मारिदाखेरी किन सेना बोल्न सकेन ? नेपाली जनताको सुरक्षा गर्दाखेरी वा युद्धमा चाहे त्यो विद्रोही होस, घाइतेलाई आफ्नो काँधमा बोकेर अस्पतालसम्म पुर्याउने सेना आज सकिन लिम्पियाधुरा जान सकेको छैन ?’– उनले प्रश्न गरे ।
अहिले सेना आफ्नै अस्तित्व बचाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । सेना कहिले पनि राजनीतिक दलको अभिन्न अंगको रुपमा हुन नहुने उनको सुझाव छ । नेपाली सेना कसैको दास नभएको उनको भनाई छ । ‘किन सेनाले आफ्नो अस्तित्व बचाउन सकेको छैन ? के सेना राजनीतिक दलको अभिन्न अंग हो ? यदि राजनीतिक दलको अभिन्न अंग होइन भने राष्ट्रिय सुरक्षाका किन बोल्न सक्दैन ? नेपाली सेना आज कसैको दास होइन,’– उनले भने ।
अर्का वक्ता गोविन्द बोहोरा ‘ब्रमाण्ड’ ले नेपालको राजनीतिमाथिको व्यवस्थापन नेपाली सेनाले गर्न नसकेको भन्ने प्रश्न चिन्ह खडा भएको बताए । ‘नेपाली राजनीतिको व्यवस्थापन नेपाली सेनाले किन गर्न नसकेको भन्ने प्रश्न चिन्ह उठेको छ । नेपालमा नाकाबन्दी लाग्दै सैन्य कुटनीतिबाट नाकाबन्दी खुल्छ भने आजको अवस्थामा आइपुग्दा नेपाली सेनाले किन कुटनीति प्रयोग गर्न सक्दैन भन्ने कुरा छ ।
साथै, नेपालको संविधानबाट अहिलेको नेपालको समस्या समाधान हुन नसक्ने उनले बताए । पूर्वराजा ज्ञानेन्द्रले सरकारमा आउने चाहना देखाएको स्मरण गराउँदै उनले पूर्वराजाको चाहना बुझेर भूपु सैनिकले यसको कदम चाल्नुपर्ने उनको भनाई छ । अहिले आम जनताको चाहना नेपाली सेनाले सत्ता हातमा लिएहुन्थ्यो भन्ने चाहना भएको उनले बताए । नेपाल युक्रेनको अवस्थामा पुग्ने अवस्था आइसकेको दाबी छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, अधिवक्ता नवराज पाण्डे लगायतको सहभागिता रहेको थियो ।