काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को अहम भूमिका हुने बताएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा एनआरएनएका प्रतिनिधिसँगको भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालको साहित्यिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गरे।
आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मकरूपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै उहाँले त्यसमा सहभागी भई योगदान गर्न एनआरएनएका प्रतिनिधिलाई आह्वान गरे।
राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
एनआरएनएका कार्यकारी अध्यक्ष रविना थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै सङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाले उठाएका मुद्दाप्रति ध्यानाकर्षण गराए।
अध्यक्ष कुल आचार्यले नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। सो अवसरमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए।