Logo

प्रधानमन्त्री प्रचण्डलाई गगनको सुझाव– जनता तर्साउन छोडेर डराउनुस्



काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नागरिकलाई नतर्साउन चेतावनी दिएका छन् । आज (बिहीबार) सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई जनतालाई तर्साउन छोडेर आफूले पाएको सेकेन्ड–सेकेन्डको समयलाई सदुपयोग गर्न आग्रह गरे ।

‘मैले प्रधानमन्त्रीलाई पटक–पटक भनेको छु– नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउन पर्ने बेला आएको छ । कम्तीमा दिनमा आधा घण्टा समय निकालेर सोच्नुस्, म सँगको समयको एकएक सेकेण्ड कसरी प्रयोग गर्ने भनेर । डराउनुस् । प्रधानमन्त्री डरायो भनेमात्र बल्ल नागरिक डरबाट मुक्त हुन्छ,’– उनले भने ।

साथै, प्रधानमन्त्रीलाई भोट हेरेर नबस्नसमेत उनले आग्रह गरे । प्रधानमन्त्रीले अहिले दायाँ बायाँ भोटमात्रै हेरेको उनले टिप्पणी गरे । प्रधानमन्त्रीले भोटलाई मात्रै प्राथमिकता दिए एकदिन एक्लै हुने दिन आउने उनको चेतावनी छ ।

अहिले युवाहरुमा धेरै निराशा रहेको उनले बताए । आफूले युवाहरु यतिधेरै निराश र आत्तिएको कहिल्यै नदेखेको उनले बताए । ‘मैले यतिधेरै तन्नेरीहरु आत्तिएको कहिले पनि देखेको थिएन । यतिधेरै मानिसहरु निराश भएको मैले कहिले पनि देखेको थिइँन । मैले तर्साएको होइन, मैले अनुभूति गरेको कुरा शेयर गरिरहेको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot