Logo

जसपा नेता यादवको टिप्पणी– ‘सिके राउत गणतन्त्रको तर खान आएका हुन्’ (भिडियोसहित)



काठमाडौं, १० चैत्र । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं संघीय सांसद राजकिशोर यादवले नेपालमा गणतन्त्र ल्याउन र मधेशी जनताको हक अधिकार स्थापित गर्नमा सिके राउतको कुनै भूमिका नरहेको टिप्पणी गरेका छन् ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपेन्द्र यादवले आफ्नो जीवनलाई बाजी लगाए अहिलेको व्यवस्था ल्याउन लडेको बताए । मधेशमा उपेन्द्रको विरुद्धमा बोल्ने कसैलाई पनि छुट नभएको उनको भनाई छ ।

‘नेपाल केन्द्रीकृत र एकात्मक व्यवस्थाबाट संघात्मक व्यवस्थामा गयो । आज नेपाली राज्यसत्ता समावेशी र सहभागिता मूलक प्रणालीमा गयो ।यसको नेतृत्व उपेन्द्र यादवले गरेर उहाँको दूरदर्शिता, त्याग, बलिदान र संर्घषको उपज हो यो । हिजो नेपालमा राजतन्त्र र एकात्मक राज्य व्यवस्था भइरहँदा आफ्नो जीवनलाई बाजी लगाएर यो व्यवस्था ल्याएको हो,’– उनले भने ।

मधेशमा उपेन्द्र यादव भर्सेस सिके राउत केही मिडियाहरुले जबरजस्त बनाएको उनको आरोप छ । उपेन्द्रको त्याग र बलिदानीको ठाउँमा सिके राउत आउनै नसक्ने उनको तर्क छ । गणतन्त्रमा सिके राउतको कुनै योगदान नभएको उनको आरोप छ । सबै परिवर्तन भइसकेपछि सिके राउत गणतन्त्रको तर खान आएको उनले टिप्पणी गरे ।

‘उपेन्द्र यादव आफ्नो बलमा संघर्ष गरेर नेपालको राज्य व्यवस्थालाई नै परिवर्तन गराएर नयाँ व्यवस्था स्थापित गराएको व्यक्तित्व हो । अर्को चाहिँ (सिके राउत) रुखमा फल लागिसकेपछि, सबै परिवर्तन भइरकेपछि परिवर्तनको तर खान आएको व्यक्ति हो,’– उनले भने ।

मधेशको जनताले अधिकारको खोजि गरिरहेको उनले बताए । जनताको पिर, मर्का र पीडालाई उपेन्द्रले जति अरुले बुझ्न नसक्ने उनको दाबी छ । मधेश उपेन्द्र यादवको संघर्ष र बलिदानीको देन भएको दाबी गर्दै उनले उपेन्द्रको विरुद्ध बोल्ने छुट नभएको बताए । आफूहरु संघीयताको र मधेशी जनताको हकको कुरा गर्दै गर्दा सिके राउतले यी मधेशीहरु गद्धार हुन भनेर अभिव्यक्ति दिएकोसमेत उनले आरोप लगाए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot