काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसंख्य वृद्धिमा सन्तुलन नभएको बताएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हिमाली र पहाडी क्षेत्रको जनसंख्या क्रमश घटिरहेको र सहरी तथा तराई क्षेत्रमा जनसंख्या बढेको भन्दो चासो व्यक्त गरेका हुन् ।
‘प्राप्त नतीजा समग्रमा हेर्दा कम उमेरका व्यक्तिहरुको संख्या क्रमश घटेको, बढी उमेरका व्यक्तिहरुको संख्या क्रमश बढेको देखिनुले जनसंख्याको वृद्धि सन्तुलित नभएको देखिन्छ । समग्र जनसंख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको छ । विशेष गरी हिमाली र पहाडी ग्रामिण भेगको जनसंख्या द्रुत रुपमा घट्ने क्रममा देखिएको छ भने तराई तथा सहरी क्षेत्रमा बढ्ने क्रममा देखिएको छ,’– उनले भने ।
राष्ट्रिय जनगणना २०७८ ले आगामी १० वर्षका लागि जनसांख्यिक, शैक्षिक, आर्थिक तथा मानवीयको विकासका लागि आधार तय गरेको उनले बताए । ‘नेपालको सन्दर्भमा जनगणना देशको सामाजिक–आर्थिक यथार्थ स्वरुप प्रस्तुत गर्ने एक महत्वपूर्ण तथा वृहत तथ्याङ्कीय कार्य हो । यसले जनसांख्यिक, शैक्षिक, आर्थिक तथा मानवीय विविध क्षेत्रको तथ्याङ्क यकिन गर्नुका साथै आगामी दश वर्षसम्मका लागि तथ्याङ्कको आधारसमेत सिर्जना गर्दछ,’– उनले भने ।
जनगणनाबाट प्राप्त तथ्याङ्कले नेपालको संविधानले निर्धारण गरेको जनताको मौलिक हक कार्यान्वयनमा सहज हुने विश्वास आफूले लिएको प्रधानमन्त्री प्रचण्डले बताए । जनगणनाको तथ्याङ्कबाट १५औं योजनाको समीक्षा र १६औं योजनाको अवधारणा तयार गर्नका लागि आधार तय हुने उनले बताए । सुशासन, दीगो विकास र नेपालले गरेका अन्तराष्ट्रिय प्रतिबद्धताका लागि जनगणनाको तथ्याङ्कले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।