काठमाडौं, १० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताएका छन्।
आज बसेको प्रदेशसभाको बैठकमा उनले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताए।
उनले जनतालाई संविधान र प्रजातन्त्रप्रति दलको नेतृत्वबाट भएका कमीकमजोरीको कारणले निराशा पैदा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार, आर्थिक समृद्धि र जनतालाई शान्ति सुरक्षा र अमनचैन कायम गर्न सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
नेकपा (एमाले)का संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले आर्थिक मितव्ययिताका प्रशासनिक खर्चमा कटौती गरेको बताए।
उनले प्रदेशका विभिन्न अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण उपलब्ध गराइएको र उपचार सेवालाई अझ प्रभावकारी बनाउन घुम्ती चिकित्सक टोली परिचालन गरिएको जानकारी दिए। उनले प्रदेश सरकारले दुई महिना सात दिनमा कृषि उत्पादन र पशुपंक्षी पालनमा कृषकलाई परिचालन गर्न गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गरेको बताए।
मुलुकमा स्थिर राजनीतिक अवस्था सिर्जना गर्न सके जनतालाई प्रजातन्त्रप्रति विश्वास बढ्ने धारणा उनको भनाइ छ। वर्तमान अवस्थामा मुलुकमा राजनीतिक तीव्र धु्रवीकरणको कारणले आफ्नो पार्टीले सहमतिको आधारमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा मन्त्रिपरिषद्मा समावेश भएको उनले बताए।
उनले बागमती प्रदेशमा नेकपा (एमाले)ले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने बताए। मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २५ मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धनको समर्थनमा मुख्यमन्त्रीको नियुक्त भएका थिए।
उनले पुस २६ मा मन्त्रिपरिषद्मा ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। साथै गत माघ ३ मा विश्वासको मत प्राप्त गरिसके लगत्तै एमाले, माओवादी केन्द्र र राप्रपाको मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरिएको थियो।
केही हप्ताअघि राप्रपाको तर्फबाट मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीहरुले राजीनामा दिएका थिए। साथै राप्रपाले सरकारले दिएको समर्थन समेत फिर्ता लिएको थियो।