Logo

मन्त्रिपरिषद्‍ विस्तार : बोलीमा चुके प्रधानमन्त्री, कहिले मिल्छ भागबण्डा ?



  • भूपेन्द्रसिंह धामी

काठमाडौं, ११ चैत्र । चैत्र ६ गते(सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा उपस्थित् २६२ जना सांसद्‍मध्ये १७२ जनाको समर्थन पाउँदै दोस्रो पटक विश्वासको मत पाए।

पुष १० तत्कालिन नेपाली कांग्रेसलगायत पार्टीको चुनावी गठबन्धन बिथोल्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसद्‍को समर्थनमा तेस्रोपटक देशको प्रधानमन्त्री नियुक्त भएको ८५ औं दिनमा प्रधानमन्त्री दाहालले पुन: दोस्रो पटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपर्‍यो। प्रधानमन्त्री दाहालले यसअघि पहिलो पटक पुष २६ गते सदनबाट ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेका थिए।

सभामुख र उपसभामुख निर्वाचनसम्म सँगसँगै रहेको एमाले नेतृत्वको ७ दलीय गठबन्धनको अर्को प्रमुख घटक माओवादीले एमालेलाई राष्ट्रपति नदिने र राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने अडान लिएपछि अन्तत: विविध कारण देखाउँदै केही दिन अगाडि राप्रपापछि १५ फाल्गुनमा पुस १० मा भएको सहमतिअनुसारको काम प्रधानमन्त्री दाहालले नगरेको र एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको भन्दै सरकारबाट बाहिरिने निर्णय गर्‍यो। सरकारबाट बाहिँरिदै गर्दा दुईवटै दलले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिए।

राष्ट्रपति निर्वाचनको माहोल तातिरहेकै बेला प्रधानमन्त्री दाहालको साथ एमालेले छोडेपछि पुन: गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका रहेको पुरानो गठबन्धन ब्युतियो। फलस्वरुप नेपाली कांग्रेसले आफ्नो कोल्टामा राष्ट्रपति र गठबन्धनमै रहेको अर्को दल जसपाले उपराष्ट्रपतिमा बाजी मार्यो।

एमाले र राप्रपाले प्रधानमन्त्री दाहालको साथ छोड्दा र रास्वपा अगाडि नै सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिँदा धेरै मन्त्रालय मन्त्रीविहीन बने। गठबन्धनको समिकरण फेरिँदा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपश्चात विश्वासको मत प्राप्त गरेपछि मात्रै नयाँ गठन्धनलाई सरकारमा भित्र्याउने मुडमा देखिएका प्रधानमन्त्री दाहालले अन्तत: गत सोमबार विश्वासको मत पाए। मत पाएपछि संसद् भवनबाट बाहिँरिदै सञ्चारकर्मीसँग २/४ दिनभित्रै मन्त्रिपरिषद्‍ले पूर्णता पाउने र त्यसका लागि भोलि(मंगलबार) बिहानदेखि नै गहन छलफल हुने बताएका थिए।

त्यसकै भोलिपल्ट प्रधानमन्त्री दाहाल हेलिकप्टरमार्फत बिहानै गोरखातर्फ लागे। गोरखाबाट काठमाडौं फर्किएपछि दिउँसो १ बजे अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित बानेश्वर बैन्ङ्क्वैट थापागाउँ पुगे। सो कार्यक्रमपछि प्रधानमन्त्री दाहाल फेरि टुँडीखेलस्थित सैनिक मञ्चमा घोडाजात्राको रौनक हेर्न पुगे। सो दिन ब्यस्त देखिएका प्रधानमन्त्री दाहाल बुधबार र बिहीबार आफ्नो नियमित कामबाहेक बाँकी समय मन्त्रिपरिषद्‍ विस्तारका लागि गठबन्धनका नेताहरुसँग छलफलमा बिताए।

प्रधानमन्त्री दाहालले मन्त्रालयको भागबण्डा टुङ्ग्याउनका लागि संसद् संख्या अनुसार मन्त्री संख्या प्रस्ताव गरेपनि ठोस सहमति जुट्न सकेको छैन। मन्त्रालयको संख्या कम र गठबन्धनमा रहेका १० दलमध्ये ९ दलले सरकारमा जान भागबण्डा खोजेको र मन्त्रालयको आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद्‍ले पूर्णता पाउने अझै समय लाग्नेछ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारकै लागि बिहीबार गठबन्धन दलहरुका शीर्ष नेताहरुसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल गर्दापनि केही ठोस निष्कर्षमा पुग्न सकेनन्। बेग्लाबेग्लै छलफलपछि उनले सामूहिक छलफलपनि डाँके तर निर्णायक सहमतिमा पुग्न सकेनन्।

यस्तै, शुक्रबार दाहालले केही छलफल गरेपनि धेरैजसो समय गठबन्धनका दलहरुसँग नयाँ प्रहरी महानिरीक्षक(आइजीपी)का लागि खर्चे। उनले शुक्रबारपनि गठबन्धनका दलहरुसँग आइजीपीका लागि बेग्लाबेग्लै छलफल गरे। जसअनुसार गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफल र सहमतिपछि नयाँ आइजीपीमा बसन्त बहादुर कुँवरलाई नियुक्त गर्ने मन्त्रिपरिषद्‍बाट निर्णय गराए। ततपश्चात पनि मन्त्रिपरिषद् विस्तारबारे केही छलफल भएपनि खासै प्रगति हुन सकेन।

दाहालले विश्वासको मत प्राप्त गर्दा बोलेको ४ दिनको समय शुक्रबार समाप्त हुँदापनि भागबण्डाबारे ठोस केही निर्णय हुन सकेको छैन। प्रधानमन्त्री दाहालले दिएको समय सीमा सकिदाँपनि उनका स्वकीय सचिव रमेश मल्ल भने सोमबारसम्म कुनै टुङ्गो लाग्छ भन्नेमा आश रहेको बताउँछन्। उनले सार्वजनिकरुपमै भने, ‘पूर्णता नै दिनेसम्म नभए पनि केही न केही टुङ्गो सोमबारसम्म लाग्छ होला।’

यस्तै, सरकारका उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलेपनि शनिबार राजधानीको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्‍ले पूर्णता पाउन अझै दुई दिनसम्म लाग्ने बताएका छन्। ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ,’ उनले भने।

त्यस्तै, सत्ता गठबन्धनको प्रमुख घटक रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद्‍ पूर्णतामा अझै समय लाग्न सक्ने संकेत देखाएका छन्। उनले भने, ‘यत्रा धेरै पार्टीहरू छन्, सबैसँग कुरा गर्नुपर्ने होला, सबैलाई चित्त बुझाउनुपर्ने होला त्यही त हो नि हाम्रो समस्या।’



प्रतिक्रिया दिनुहोस्

Screenshot