Logo

उत्पीडित वर्ग र समुदायले आफ्नो असली प्रतिनिधि चिन्न जरुरी छ– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ११ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संविधान जनताले चाहेजस्तै पूर्ण भइनसकेको बताएका छन् । आज विश्व नेवार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान संविधानमा जनताले चाहेकोजस्तो पहिचान र हक अधिकार स्थापित गर्नका लागि संघर्ष जारी रहेको बताएका हुन् ।

‘नेपाली जनताको त्याग र बलिदानीको जगमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता विशेषतासहितको संवैधानिक व्यवस्था कामय भएको छ । यद्यपि वर्तमान संविधान पनि हामीले चाहेजस्तै पूर्ण भने भइसकेको छैन । नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न संघर्ष अझै जारी छ,’– उनले भने ।

उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी रहेकोसमेत उनले बताए । शान्ति प्रक्रियामा आएसँग सबैभन्दा पहिला आफूले वसन्तपुर डबलीमै पहिलो कार्यक्रम गरेकोसमेत उनले स्मरण गरे । नेपाल सम्वतलाई राष्ट्रिय सम्वत्को मान्यता दिलाउन पनि आफूले भूमिका खेलेको उनको दाबी छ ।

नेवारहरुको अनुसन्धानका लागि प्रतिष्ठान बनाउन आवश्यक रहेको भन्ने सुझाव आफूले पाएको उनले बताए । उक्त सुझावलाई आफूले गम्भीर रुपमा लिएको उनले बताए । नेवारहरुको साहित्य, संस्कृति र इतिहासप्रति आफ्नो उच्च सम्मान रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । एउटा अनुसन्धान प्रतिष्ठान बनाउने पनि उनले प्रतिबद्धता व्यक्त गरे । उक्त प्रतिष्ठान नेवारहरुको मात्रै नभएर सिंगो नेपालीहरुको हुने उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot