काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको १० दलीय गठबन्धनलाई पुतलीको लार्भासँग तुलना गरेका छन् । आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पुतलीको लार्भाले रुखलाई निमिट्यान्न पारेझैं १० दलीय गठबन्धनका नेताहरु देश निमिट्यान्न पार्न तयार भएर बसेको आरोप लगाएका हुन् ।
‘पुतलीको एउटा स्टेज हुन्छ, लार्भ स्टेज । रुखको पात निमिट्यान्नै पार्दिन्छ । तिनीहरुले त एउटा रुखको पात निमिट्यान्न पार्छन् । यिनीहरुले देशै खुइल्याएर छोड्ने भए । देशै निमिट्यान्न पार्ने भए । दशतिर फर्किएका दश वटा मुख हाउँहाउँ गरेर बसेका छन् । के खाउँ ? के खाउँ गरेर बसेका छन्,’– उनले भने ।
एमालेले हतार नगरी देशलाई यस्ता तत्वहरुबाट मुक्त गराउन पर्ने उनले बताए । ‘यस्ताहरुबाट देश मुक्त गराउनु छ एमालेले । हत्तार गर्न हुँदैन । हतारोले मात्रै हुँदैन । हामील गराउन सक्थ्यौं, साच्चै एमाले एमालेझैं भएर लागेको भए,’– उनले भने ।