Logo

भागबण्डाको सकसले मन्त्रिपरिषद् विस्तारमा ढिलाई



काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा लामो समयदेखि १६ वटा मन्त्रालय रहेको छ । गत पुष १० मा नेकपा (एमाले) को समर्थनमा बनेको सरकार दलहरुबीचको असमझदारीका कारण अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले गत चैत्र ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिए । नेपाली कांग्रेसको समर्थनमा विश्वासको मत पाए पनि । तर, विश्वासको मत पाएको एक हप्ता हुँदा पनि आजसम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद विस्तार नहुँदा मन्त्रालयका दैनिक काम कारबाही नै प्रभावित भएको छ ।

मन्त्रिपरिषद विस्तारका लागि सत्तारुढ ११ दलीय गठबन्धन पटक– पटक छलफलमा जुटेपनि अझै समहतिको नजिक पुग्न सकेका छैन । विश्वासको मत पाएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो प्राथमिकता मन्त्रिपरिषद विस्तार भएको बताए पनि मन्त्रिपरिष विस्तारमा अझै केही दिन ढिलाइ हुने निश्चित भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसले मन्त्रीहरुको टुंगो लगाउन भोलि (मंगलबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पाद समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई मनत्री छान्ने अधिकार प्रत्योजन गर्ने बताइएको छ । त्यसैगरी सत्तरुढ अन्य दलहरु माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी पनि आन्तरिक छलफलमै रहेका छन् ।

प्रतिनिधि सभामा कुनै दलको पनि बहुमत नभएको अबस्थामा ११ दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डलाई यतिबेला मन्त्रालय भागबण्डामा सकस भएको छ । साथै, सत्तारुढ दलहरुले मन्त्रालयमा आ–आफ्नो अडान कायमै हुँदा प्रचण्ड थप दवाबमा छन् । अहिलेका राजनीतिक परिदृष्यलाई नियाल्दा मन्त्रिपरिषद विस्तारमा अझै केही दिन लाग्ने प्रष्ट छ ।



प्रतिक्रिया दिनुहोस्