काठमाडौं, १३ चैत्र । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा (एमाले) सँग पार्टी एकता गर्दा राम्रो हुने बताएकी छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले उठाएको एजेण्डा जनताले बुझेर फैसला गरिसकेको भन्दै पार्टी एकताको लागि नयाँ ढंगले संवाद गर्न आवश्यक रहेको बताएकी हुन् ।
‘एकता हुँदा राम्रो । वामपन्थीहरु चुनावको एउटा कोर्षबाट अगाडि बढ्यौं । आखिर संसारभरिको राजनीतिक कोर्ष दुई ध्रुवबाट चलिरहेको छ । चुनावपछि हामीले उठाएका एजेण्डा र हामीले उठाएको कुरा के हो भन्ने कुरा जनताले बुझिसकेका छन् । हामीले प्राप्त गरेको सफलता वा असफलता, पुरस्कार वा पनिस्मेन्ट को त फैसला भइसक्यो नि । नयाँ ढंगले संवाद किन नगर्ने भन्ने मेरो आशय हो,’– उनले भनिन् ।
‘तपाईँ केपी शर्मा ओलीको सबैभन्दा बढी आलोचक । अहिले आएर फेरि तपाईँ सहकार्य गर्नुपर्छ भन्दै हुनुहुन्छ । कसरी युटर्न हुनुभयो ?’ भन्ने धमलाको प्रश्नमा उनले भनिन्– ‘खासगरी संसद् विघटन र राजनीतिक अस्थिरताको ईष्युमा उहाँसँग हामी असहमत भयौं । त्यो कोर्षबाट हामी पार्टी फुटाउनेसम्म पुग्यौं । निर्वाचनमा गएर एउटा परिणाम आएपछि हामीले जनताकाबीचमा कति एजेण्डालाई स्थापति गर्यौ भन्ने कुरा पनि भयो । हामीले हिजो गरेको क्रियाकलापबाट सिंहवालोकन गर्ने कि नगर्ने ? भन्ने कुरा ठूलो सैद्धान्तिक कुरा हो । त्यही भएर त्यो विषयमा त निरपेक्ष केपी कमरेड गलत माधव कमरेड ठीक, म ठीक अर्को गलत भन्ने कुरै हु्ँदैन । सापेक्षित ढंगले हामी तत्काल कहाँ–कहाँ रह्यौं र त्यो सन्दर्भमा के कुरा ठीक थियो भन्ने कुरा प्रमुख हो ।’
अहिले आएर पनि एमालेलाई त्यही आँखाले हेर्न नमिल्ने उनले बताईन् । पार्टीको केन्द्रीय कमिटीले वामपन्थी एकताको लागि सहकार्य र संवाद गर्ने भन्ने निर्णय गरिसकेको उनको दाबी छ । एमाले नेताहरुसँग पार्टी एकताको लागि औपचारिक संवाद नभएपनि आफूले प्रयास जारी राखेको उनले बताइन् । एमाले र एकीकृत समाजवादीबीच अहिले तिक्तताको अवस्था नरहेको उनको दाबी छ । अहिले एमालेलाई भन्दा पनि एकीकृत समाजवादीलाई पार्टी एकताको आवश्यकता रहेको उनको बुझाई छ ।
‘अहिले एमालेलाई पार्टी एकताको आवश्यकता छैन । आवश्यकता त बरु एकीकृत समाजवादीलाई थियो । हामीलाई पनि पुरानो चुनावको गठबन्धन व्युँतियर सरकारमा जाने भएपछि हाम्रो लागि पनि स्पेस बन्यो । त्यसले गर्दा औपचारिक हिसाबले पार्टी एकताको पहल चाहिँ भएको छैन,’– उनले भनिन् ।