काठमाडौं, १३ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको फैसलाको पेशी स्थगित भएको छ । अन्तिम सुनुवाइका लागि तोकिएको पेशी न्यायाधीश माधवप्रसाद रेग्मीको एकल इजलासमा परेको थियो । सन्दीप पक्षका अधिवक्ताहरुको निवेदनमा आजको पेशी स्थगित भएको हो ।
रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले आज आफूहरुले नै पेशी स्थगितका लागि निवेदन दिएको बताए ।
‘आज हामीले नै पेशी स्थगित्का लागि निवेदन दिएका हौं । त्यस्तो खास कारण त केही पनि होइन । हाम्रो टिममा भएका साथीहरुको व्यस्तताको कारण हो,’– उनले भने ।
नाबालिका बलात्कार आरोपमा सन्दीपलाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । उक्त आदेश विरुद्ध लामिछाने उच्च आदलत गएका थिए । उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनको मुद्दाको अन्तिम फैसलाको लागि आजदेखि सुनुवाइ हुने भनिएपनि सन्दीपकै पक्षका अधिवक्ताको निवेदनमा आजको पेशी स्थगित् गरिएको हो ।