Logo

काठमाडौंमा २४औं फ्लोरा -एक्स्पो आयोजना हुने



काठमाडौं १३ चैत । ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ‘भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले २४ औं फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना, पुष्प बिकास केन्द्रको सह आयोजनामा यहि २०७९ चैत्र १७ देखि २० गते सम्म ४ दिने २४ औं फ्लोरा एक्स्पो भृकुटिमण्डप प्रदर्शनी हल काठमाण्डौमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले आज पत्रकार सम्मेलन गर्दै उक्त मेलाको बारेमा जानकारी गराएको हो ।

उक्त फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६२ वटा ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड स्टल सहित जम्मा ८० वटा स्टल रहने छन् । मेलामा मौसमी फूल, फूल्ने तथा नफूले आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, दाइस्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । र उक्त मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा बिभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ। साथै उक्त प्रदर्शनीमा भारत तथा बंगलादेशका केहि पुष्प व्यवसायीहरुको समेत सहभागिता रहने छ ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ ।
२४ औं फ्लोरा एक्स्पो अवधि भित्र ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाख सम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ।

Photo By : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्