Logo

कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको छु– केपी ओली



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताएका छन् । आज (सोमबार) गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुलाई अनेक जालझेल गरी सरकारबाट हटाइएको बताएका हुन् ।

‘अनेक जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो । नराम्रो काम गरेर होइन । काम गर्न नसकेर पनि होइन । सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाए,’– अध्यक्ष ओलीले भने ।

साथै, अहिलेको संविधान एमालेको पहलमा बनेको उनको दाबी छ । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको उनले बताए । संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भएपनि कांग्रेस इमानदार नभएको उनको दाबी छ । उनले कांग्रेस अहिलेसम्म इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको आरोप लगाए । कांग्रेसका सबैभन्दा इमानदार र सोझा नेता भनेर चिनिएको शुसिल कोइराललेसमेत एमालेसँगको सहमति कार्यान्वयन नगरेको उनको आरोप छ ।

‘संविधान बनाएपछि एमालेले नेतृत्व गर्ने भन्ने सहमति भएको थियो । तर, कांग्रेसले त्यो सहमति मानेन, तोड्यो । कांग्रेस सहमति मान्दैन, इमानमा रहँदैन, बेइमानी गर्छ भन्ने कुरा सुशिल कोइराला बडा इमानदार सोझा र राम्रा नेता भनिन्यो । के का सोझा हुनु ? परेको बेला त मलाई याद छैन, थाहा छैन, सम्झौता नै सम्झना छैन भन्दिने । होइन भन्दिने । कांग्रेसले बेइमानी गर्नसक्छ भन्ने कुरा अहिले थाहा पाएको हैन, सानै छदादेखि थाहा पाएको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot